बाल्टिक क्षेत्रका तीन राष्ट्रहरू– लाटभिया, लिथुआनिया र एस्टोनियामा आएको शक्तिशाली चक्रवातका कारण दुई जनाको मृत्यु भएको छ । भीषण हावाहुरी, मुसलधारे वर्षा र गर्जनसहितको आँधीले यस क्षेत्रमा ठूलो भौतिक क्षति पु¥याउनुका साथै जनजीवन प्रभावित तुल्याएको छ । मौसम विज्ञान विभागको तथ्याङ्कअनुसार लाटभियामा सन् २००५ यताकै यो सबैभन्दा विनाशकारी आँधी हो । लाटभियाको राज्य अग्नि नियन्त्रण तथा उद्धार सेवाकाअनुसार जेलगाभामा एउटा भवनको केही हिस्सा भत्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । त्यहाँको आपत्कालीन सेवामा क्षतिसम्बन्धी १,००० भन्दा बढी उजुरीहरू प्राप्त भएका थिए । आँधीका कारण यातायात क्षेत्रमा पनि गम्भीर असर परेको छ । रेलवे लाइनमा रुखहरू ढलेपछि केही रेल सेवाहरू स्थगित गरिएका छन् भने रिगा विमानस्थलले उडानहरू ढिलाइ हुने वा अन्यत्र डाइभर्ट गर्नुपर्ने अवस्था सिर्जना भएको जानकारी दिएको छ ।
त्यसैगरी, लिथुआनियाको एनीक्सियाई जिल्लामा रुख ढलेर थिचिँदा एक पुरुषको ज्यान गएको छ । लिथुआनियामा पनि एक महिला घाइते भएकी छिन् र त्यहाँको दमकल विभागले दिनभरमा आँधीसँग सम्बन्धित १ हजार २ सय भन्दा बढी आकस्मिक कलहरू प्राप्त गरेको छ ।
एस्टोनियामा आइतबार बिहानसम्म पनि भारी वर्षा र तीव्र गतिको हावाहुरी जारी रहेको छ । एस्टोनियाली वातावरण एजेन्सीले आगामी २४ घण्टामा ५० देखि ७० मिलिमिटर र केही स्थानमा ९० मिलिमिटरसम्म वर्षा हुनसक्ने प्रक्षेपण गरेको छ । आँधी उत्तर–पूर्वतर्फ मोडिने क्रममा तटीय क्षेत्रमा हावाको गति प्रतिसेकेण्ड २२ मिटरसम्म पुग्न सक्ने चेतावनी दिइएको छ ।
यस प्राकृतिक विपद्ले तीनवटै देशको विद्युत प्रशारण लाइनमा व्यापक क्षति पु¥याएको छ । लाटभियामा करिव २ लाख ५४ हजार, लिथुआनियामा २ लाख ५६ हजार र एस्टोनियामा ३ हजार ४ सय भन्दा बढी घरधुरीमा विद्युत सेवा अवरुद्ध भएको छ ।




