काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद नरेन्द्रकुमार केरुङले सरकार जनसरोकारका विषयमा संवेदनशील नभएको र अधिनायकवादतर्फ उन्मुख भएको आरोप लगाउनुभएको छ ।
मंगलवार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद केरुङले देशभर फैलिएको प्राकृतिक विपद्, प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप र सरकारको कार्यशैलीप्रति कडा आपत्ति जनाउनुभएको हो । बैठकमा विशेष समय लिएर बोल्दै सांसद केरुङले जाजरकोट, बाजुरा, रोल्पा लगायतका जिल्लामा बाढी र पहिरोका कारण ठूलो जनधनको क्षति भएको उल्लेख गर्नुभयो । उहाँले प्रश्तुत गर्नुभएको तथ्याङ्कअनुसार २०८३ वैशाख १ गतेदेखि साउन ३१ गतेसम्म देशभर ४ हजार ६८१ विपतका घटनाहरू भएका छन् । जसमा २ सय ४७ जनाले ज्यान गुमाएका छन् भने १५ जना अझै बेपत्ता छन् । सोही अवधिमा १ हजार ४६३ जना घाइते भएको र ५ हजार ७०९ परिवार प्रत्यक्ष प्रभावित भएको उहाँले सदनलाई जानकारी गराउनु भयो ।
उहाँले सरकार विपद् व्यवस्थापनमा लाग्नुको साटो सत्ताको खिचातानी र सचिवालयको आन्तरिक काममा मात्र व्यस्त रहेको आरोप लगाउनु भयो । सांसद केरुङले सुकुम्बासी बस्तीमाथि राज्यले चरम लापरबाही गरेको र भक्तपुरको होल्डिङ सेन्टरमा हिरा मिजार दुसाधले आत्महत्या गरेको घटनाले सरकारको संवेदनहीनता पुष्टि गरेको बताउनु भयो । साथै, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि सरकारले प्रहार गरिरहेको भन्दै उहाँले भत्र्सना गर्नुभयो । पत्रकारलाई धम्क्याउने, सिंहदरबार प्रवेशमा कडाइ गर्ने र सञ्चार गृहमा तोडफोड गर्ने जस्ता कार्यले लोकतन्त्रको उपहास गरेको उहाँको ठहर छ ।




