देशभर वर्षाको सम्भावनाः सुदूरपश्चिममा धेरै भारी वर्षा हुनसक्ने | ईमाउण्टेन समाचार

Our Network

साउन ३१ २०८३, सोमबार

देशभर वर्षाको सम्भावनाः सुदूरपश्चिममा धेरै भारी वर्षा हुनसक्ने

काठमाडौँ । देशभरको मौसममा साधारणतया बदली रही विभिन्न स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागकाअनुसार आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी र वागमती प्रदेशका पहाडी भू–भागका केही स्थानमा पनि मेघगर्जनसहित वर्षाको प्रक्षेपण गरिएको छ । तराई क्षेत्रतर्फ गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका धेरै स्थान तथा मधेस, कोशी र बागमती प्रदेशका थोरै स्थानमा मध्यम वर्षा हुनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्र तथा लुम्बिनी र सुदूरपश्चिमका तराईका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । विशेषगरी सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा धेरै भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ । आज राति देशभरका हिमाली तथा पहाडी भू–भागमा साधारणतया बदली रहनेछ । कोशी, मधेस र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा मौसम बदली रहने भएपनि वागमती, गण्डकी र लुम्बिनीको तराईमा भने आंशिक बदलीको अवस्था रहनेछ ।  रातिको समयमा देशका पहाडी तथा हिमाली भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ । मधेस, कोशी र सुदूरपश्चिमका तराईका केही स्थान तथा अन्य प्रदेशका तराई क्षेत्रका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Leave a Reply