काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशभरको मौसममा साधारणतया बदली रहनेछ । देशका विभिन्न भू–भागमा मेघगर्जन र चट्याङ्गसहित वर्षा तथा हिमपातको सम्भावना रहेको छ । विभागले सार्वजनिक गरेको मौसम बुलेटिनअनुसार आज दिउँसो देशको हिमाली भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका धेरै स्थानहरूमा तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका केही स्थानमा मध्यम वर्षा हुने अनुमान गरिएको छ । यसैगरी, तराई क्षेत्रका लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा मधेस, कोशी, वागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ । विशेषगरी कर्णाली प्रदेशको पहाडी क्षेत्रका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ । आज राति देशभरको मौसममा पहाडी र हिमाली भू–भागमा साधारणतया बदली रहनेछ भने तराई भू–भागमा आंशिक बदली हुनेछ । पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ भने तराईका एक–दुई स्थानमा मध्यम वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ ।




