काठमाडौँ ।
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. लेखजंग थापाले निर्वाचनमा आम नागरिकको समावेशिता र मतदान प्रतिशत बढाउने विषयमा प्रश्तावित प्रमुख निर्वाचन आयुक्तसँग ठोस कार्ययोजना माग गर्नुभएको छ । बुधवार संसदीय सुनुवाई समितिमा प्रश्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीको सुनुवाईका क्रममा सांसद थापाले विगतका निर्वाचनमा देखिएका कमजोरी र आगामी चुनौतीबारे प्रश्न उठाउनुभएको हो । सांसद थापाले सुदूरपश्चिम जस्ता क्षेत्रमा मतदानको प्रतिशत ५० को हाराहारीमा मात्रै रहनुले निर्वाचनले साच्चै ‘मुलुकको आवाज’ प्रतिनिधित्व गर्छ कि गर्दैन भन्ने गम्भीर प्रश्न उब्जिएको बताउनु भयो ।
सांसद थापाले विशेषगरी वृद्धवृद्धा, अशक्त र अपाङ्गता भएका व्यक्तिहरूका लागि मतदान केन्द्रहरू मैत्रीपूर्ण नभएको र उनीहरूलाई मतदान केन्द्रसम्म ल्याउने यातायातको व्यवस्था (ट्रान्सपोर्टेसन) को पाटो कार्ययोजनामा छुटेको टिप्पणी गर्नुभयो । उहाँले निर्वाचन आयोगको आफ्नै कार्यक्षमता र संस्थागत सबलीकरणको विषयमा पनि स्पष्ट खाका माग गर्नुभयो । प्रस्तावित आयुक्तको कार्ययोजनामा वस्तुगत लक्ष्य नदेखिएको भन्दै थापाले प्रश्न गर्नुभयो । सांसद थापाले संविधान, ऐन र नियमले मात्रै सबै मार्गनिर्देश नगर्ने भन्दै प्रमुख निर्वाचन आयुक्त जस्तो गरिमामय पदमा रहने व्यक्तिसँग स्पष्ट दृष्टिकोण र ठोस कार्ययोजना हुनुपर्नेमा जोड दिनुभयो ।




