काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सचेतक क्रान्तिशिखा धितालले संसद बैठकलाई प्रभावकारी बनाउन सत्तापक्ष सक्रिय रहेको बताउनुभएको छ ।मंगलवार सिंहदरबारमा सभामुखसँगको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । लामो समयसम्म सदन सञ्चालन हुँदा सांसदहरू आफ्नो कार्यक्षेत्र र मतदातासँग प्रत्यक्ष संवाद गर्नबाट वञ्चित भएको तथा सदनको उपस्थितिमा समेत केही शिथिलता देखिएकाले दुई हप्ताको विश्राम दिइएको उहाँले स्पष्ट पार्नुभयो । आगामी बैठकबाट सदनलाई अझ बढी प्रभावकारी कसरी बनाउने भन्ने विषयमा सामान्य छलफल भएको धितालले बताउनु भयो ।
सरकारले संसदमा प्रश्तुत गर्नका लागि १ सय ६६ वटा विधेयकहरूको सूची बुझाएको उल्लेख गर्दै उहाँले यस पटक संसदले पर्याप्त कार्यभार (बिजनेस) पाउने जानकारी दिनुभयो । सदनमा प्रतिपक्षी दलहरूले प्रधानमन्त्रीको उपस्थिति र सभामुखको भुमिकालाई लिएर गरिरहेको विरोधका सम्बन्धमा सचेतक धितालले संसदीय अभ्यास ‘सिक्दै र सुधार्दै’ लैजाने प्रक्रिया भएको बताउनु भयो । सदनमा देखिएको असमझदारी अन्त्य गर्न गम्भीर छलफल भइरहेको र आगामी केही दिनभित्रै सहमति जुट्नेमा उहाँले विश्वास व्यक्त गर्नुभयो । प्रतिपक्षी दलहरूलाई समेत विश्वासमा लिएर सरकार सबैको साझा हो भन्ने वातावरण निर्माण गर्न आफूहरू लागिपरेको धितालको भनाइ छ ।





