काठमाडौं ।
नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनले निर्वाचन आयोगलाई आधुनिकीकरण गर्दै प्रविधिमैत्री र विश्वसनीय बनाउनुपर्नेमा जोड दिनुभएको छ । मंगलवार संसदीय सुनुवाई समितिमा प्रश्तावित निर्वाचन आयुक्त डा. राजीव सुब्बाको सुनुवाईका क्रममा सांसद पुनले यस्तो बताउनुभएको हो । सांसद पुनले प्रश्तावित आयुक्त सुब्बाको २५ वर्षको कार्यअनुभव, सूचना प्रविधि (आईटी) क्षेत्रको विज्ञता र संयुक्त राष्ट्रसंघीय मिसनमा गरेको कार्यसम्पादनको प्रशंसा गर्दै उहाँको अवधारणा पत्र र प्रश्तुति प्रभावकारी रहेको बताउनु भयो । पुनले निर्वाचनमा भित्रिएको नयाँ प्रविधि र त्यसले निम्त्याउन सक्ने चुनौतीबारे चिन्ता व्यक्त गर्नुभयो । आर्टिफिसियल इन्टेलिजेन्स (एआई), डिपफेक र एल्गोरिदमका कारण निर्वाचनको समयमा भ्रामक र उत्तेजक सामग्री प्रचार हुनसक्ने उहाँले उल्लेख गर्नुभयो ।
सांसद पुनले मुलुकबाहिर रहेका ठूलो संख्याका नेपाली मतदातालाई निर्वाचन प्रक्रियामा सहभागी गराउनुपर्ने आवश्यकता औंल्याउनु भयो । हालैको निर्वाचनमा मतदान प्रतिशत न्युन रहेको उल्लेख गर्दै उनले प्रविधिको प्रयोगमार्फत निर्वाचन क्षेत्र बाहिर र विदेशमा रहेका नेपालीहरूलाई मतदान गर्ने व्यवस्था मिलाउन आयोगलाई सुझाव दिनुभयो । विकसित मुलुकहरूमा समेत प्रविधिमार्फत निर्वाचन प्रभावित पार्ने प्रयास भइरहेको सन्दर्भमा नेपालले यसको सुरक्षा र विश्वसनीयतामा विशेष ध्यान दिनुपर्ने उहाँले बताउनु भयो । विगत एक दशकदेखि ईभीएमको चर्चा चले पनि यसको विश्वसनीयतामाथि अझै प्रश्न उठिरहेको पुनले बताउनु भयो । पुनले ईभीएमसँगै म्यानुअल अडिटको व्यवस्था गरी विश्वसनीयता बढाउन सकिने बताउनु भयो ।




