अमेरिकालाई युद्धको अन्त्य र समय निर्धारण गर्न दिँदैनौँः इरान | ईमाउण्टेन समाचार

Our Network

साउन ११ २०८३, मंगलबार

अमेरिकालाई युद्धको अन्त्य र समय निर्धारण गर्न दिँदैनौँः इरान

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले तेहरानले संयुक्त राज्य अमेरिकालाई युद्धको अन्त्य र समय निर्धारण गर्ने अनुमति नदिने स्पष्ट पार्नुभएको छ । इरानको अर्धसरकारी समाचार एजेन्सी मेहरकाअनुसार प्रवक्ता बाघेईले सोमबार आयोजित एक पत्रकार सम्मेलनमा यस्तो धारणा राख्नुभएको हो । अमेरिका विगत पाँच महिनादेखि दलदलमा फसेको टिप्पणी गर्दै बाघेईले भन्नुभयो, ‘हामी अमेरिकी पक्षलाई युद्ध र शान्तिको समय निर्धारण गर्न दिने छैनौँ । आवश्यक परेको समयसम्म हामी आफ्नो प्रतिरक्षा गर्नेछौँ ।’
ओमानसँगको वार्ताका सम्बन्धमा बोल्दै उहाँले हर्मुज जलसन्धिको व्यवस्थापनका विषयमा भइरहेको छलफलमा अमेरिकाको कुनै संलग्नता नरहेको बताउनु भयो । उहाँले उक्त वार्तालाई सकारात्मक भन्दै यो इरान र ओमानबीचको द्विपक्षीय मामिला भएको स्पष्ट पारे । साथै, उक्त जलमार्ग हाल बन्द रहेको जानकारी पनि उहाँले दिनुभयो । प्रवक्ता बाघेईले केही खाडी मुलुकहरू इरानविरुद्धको अमेरिकी युद्धमा संलग्न रहेको दाबी गरे पनि यसबारे थप विवरण भने दिएनन् । यसैबीच, क्यास्पियन सागरमा युक्रेनले इरानी व्यावसायिक जहाजमाथि गरेको आक्रमणप्रति कडा आपत्ति जनाउँदै उहाँले यसको अप्रत्याशित परिणाम हुने चेतावनी दिनुभयो । सप्ताहन्तमा भएको उक्त आक्रमणमा परी एक नाविकको मृत्यु भएको थियो । सामाजिक सञ्जाल एक्समा एक विज्ञप्ति जारी गर्दै बाघेईले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले इजरायलको इसारामा युरोपलाई युद्धमा तान्नका लागि यो कदम चालेको आरोप लगाउनुभएको छ । उहाँले यस कार्यलाई संयुक्त राष्ट्रसंघको बडापत्रको घोर उल्लङ्घन र पूर्णतः अवैध तथा अनुचित भन्दै इरानले यसको कडा जवाफ दिने बताउनु भयो ।

Leave a Reply

ताजा समाचार