आन्तरिक विवादमा जेलिएको काँग्रेस फुटको डिलमाः सभापति थापाको लचकता बिना एकता कठिन | ईमाउण्टेन समाचार

Our Network

साउन ६ २०८३, बिहीबार

आन्तरिक विवादमा जेलिएको काँग्रेस फुटको डिलमाः सभापति थापाको लचकता बिना एकता कठिन

काठमाडौं ।

२००७ को क्रान्तिदेखि २०६२/६३ को जनआन्दोलन सम्म वीपी कोईराला र गिरिजाप्रसाद कोईरालाको वैचारिक तथा सांगठनिक जगमा उभिएको नेपाली काँग्रेस अहिले आफ्नो इतिहासकै गम्भीर मोडमा पुगेको छ । आगामी मङ्सिरमा १५ औँ केन्द्रिय महाधिवेशन गर्ने निर्णय भएपनि विशेष महाधिवेशनपछि चुलिएको आन्तरिक द्वन्द्व ६ महिना बित्दासमेत टुंगोमा पुग्न सकेको छैन । दोस्रो विशेष महाधिवेशनबाट नेतृत्वमा आएका सभापति गगनकुमार थापा र संस्थापन इतरपक्ष (खड्का/कोईराला समूह) बीचको दूरी बढ्दै जाँदा पार्टी औपचारिक विभाजनतर्फ उन्मुख भएको सन्देश प्रवाह भएको छ ।विशेष महाधिवेशनपछि संस्थापन इतरपक्ष सर्वोच्च अदालत र निर्वाचन आयोगसम्म पुग्दा पनि मागले सार्थकता नपाएपछि अहिले राष्ट्रिय भेलामार्फत नयाँ दल गठनको विकल्पसम्म पुग्ने रणनीतिमा छ । पार्टी एकताका लागि निरन्तर प्रयास र लचकता अपनाउँदा पनि संस्थापन पक्षबाट कुनै सार्थक पहल नभएको इतर पक्षको ठहर छ । राजनीतिक विश्लेषकहरूकाअनुसार विशेष महाधिवेशनको जनादेश र रूपान्तरणको नारा दिएर नेतृत्वमा आएका सभापति थापाका लागि १५ औँ महाधिवेशनअघिको यो समय राजनीतिक परिपक्वता र अभिभावकत्व प्रदर्शन गर्ने मुख्य परीक्षा बनेको छ ।
नेतृत्वको कार्यशैली र इतरपक्षको असन्तुष्टि
विवादको मूल केन्द्रमा विशेष महाधिवेशनपछिको नेतृत्वको कार्यशैली, अद्यावधिक प्रक्रिया र १५ औँ महाधिवेशनको कार्यदिशा रहेको छ । संस्थापन इतरपक्षले सभापति थापाले पार्टीका अग्रज नेताहरूलाई पाखा लगाएर एकलौटी ढङ्गले पार्टी सञ्चालन गर्न खोजेको आरोप लगाउँदै आएको छ । पार्टीका कार्यकर्ता महेन्द्रकुमारी लिम्बू सभापति थापाले वीपीको सिद्धान्त र इतिहास बोकेका नेताहरूलाई पाखा लगाएर जेन–जी पुस्ताको पछाडि मात्र लागेको बताउनु हुन्छ । २००७ सालमा ब्रिटिस आर्मी छोडेर वीपीसँगै आन्दोलनमा होमिएका योद्धाकी सन्तान लिम्बूले काँग्रेस कसैको पेवा वा निजी सम्पती नभएको टिप्पणी गर्नुभयो ।
संवादहीनता र नेतृत्वमाथि दोषारोपण
पूर्वमहाधिवेशन प्रतिनिधि बलराम खतिवडाकाअनुसार संस्थापन इतरपक्ष एकताका लागि हदैसम्म लचिलो बन्दा पनि वर्तमान नेतृत्व संवादबाट भागेको छ । संस्थापक नेताहरू शेरबहादुर देउवा, शेखर कोईराला, शशांक कोईरालासहितका शिर्ष नेताहरू पार्टीलाई एक बनाएर लैजाने पक्षमा रहे पनि सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले बेवास्ता गरेको उहाँको आरोप छ ।“हामीले नियमित महाधिवेशन पक्षधरका मान्छेले पार्टी मिल्नुपर्छ भनेर बारम्बार संवादका लागि आग्रह ग¥यौ, मिलाउने काम त नेतृत्वको हो ।
युवा जोश र पुराना पुस्ताको अनुभवको प्रश्न
विशेष महाधिवेशनपछि काँग्रेसभित्र युवा पुस्ता र पुराना पुस्ताबीच वैचारिक दूरी समेत बढेको छ । वागमती प्रदेश सदस्य कल्पना खड्का युवाको उत्तेजना, आक्रोश र आवेगले मात्रै पार्टी चल्न नसक्ने तर्क गर्नुहुन्छ ।

वीपीको विरासत र राष्ट्रिय स्थिरता
पार्टी कार्यकर्ताहरू यमुना खड्का विश्वकर्मा र बिन्दादेवी अर्याल काँग्रेस फुटे देशमा राजनीतिक अस्थिरता सिर्जना हुने बताउनु हुन्छ । ८० वर्षको उमेरमा पनि गिरिजाप्रसाद कोईरालाले २०५२ देखि २०६२/६३ को आन्दोलनलाई अवतरण गराएको प्रसङ्ग उल्लेख गर्दै अर्यालले उमेर भन्दा पनि नेतृत्वको क्षमता र विचार मुख्य हुने बताउनु भयो ।“काम गर्न उमेरले छेक्दैन । १५ औँ महाधिवेशनमा दुवै पक्ष मिलेर गए मात्रै राम्रो फल फल्छ र काँग्रेस बन्छ” अर्यालको भनाइ छ ।
पार्टीभित्र बढ्दो ध्रुविकरण र तल्लो तहसम्म फैलिएको असन्तुष्टिलाई नियाल्दा नेपाली काँग्रेस इतिहासकै कठिन मोडमा पुगेको देखिन्छ । एकातिर १५ औँ महाधिवेशनमार्फत पार्टीलाई नयाँ गति दिने चुनौती छ भने अर्कोतिर ऐतिहासिक विरासत बोकेको पार्टीलाई विखण्डनबाट जोगाउने दायित्व छ ।

Leave a Reply

ताजा समाचार