काठमाडौं, १० फागुन । काठमाडौंमा जारी क्लव स्तरीय डवल लिग बास्केटबलमा गोल्डेनगेट इन्टरनेशनल कलेजले पहिलो जित दर्ता गराएको छ ।
बिहीबार लिगको आफ्नो दोस्रो खेलमा गोल्डेनगेटले जेभियर इन्टरनेशनल कलेजलाई उसकै मैदानमा ७१–५६ को स्कोरले हरायो । खेलको सुरुआती तीन सेट निक्कै प्रतिस्पर्धात्मक रुपमा चलेको थियो । पहिलो सेट जेभियरले १७–१२ ले जितेकोमा दोस्रो सेटमा गोल्डेनगेट २४–२३ ले विजयी भयो । तेस्रो सेटमा पनि गोल्डेनडेटले १३–११ को नतिजा निकाल्यो । चौथो सेटमा भने पाहुना टोली पूरै हावी भयो ।
२२–५ को जित निकाल्दै गोल्डेनगेटले ठूलो अन्तरमा जेभियरलाई हरायो । गोल्डेनगेट यसअघि त्रिभुवन आर्मीसँग पराजित भएको थियो । सर्बाधिक ३३ स्कोर गरेका गोल्डेनगेटका राजीव जोशी खेलको म्यान अफ द म्याच चुनिए । यता आजै भएको अर्को खेलमा बिशाल मिलन केन्द्रले तेस्रो खेलमा दोस्रो पराजय ब्यहोरेको छ ।
बिशालनगरस्थित घरेलु कोर्टमा भएको खेलमा बिशाल मिलन केन्द्रले नतिजा हिमालय होण्डसलाई ६८–५७ ले सुम्पियो । घरेलु टोली बिशाल मिलन केन्द्र पहिलो क्वार्टरमा २१–१३ ले पछि परेकोमा दोस्रो क्वार्टरमा १७–१३ को जित निकाल्न सफल भयो । तर, तेस्रो र चौथो क्वार्टरमा हिमालयन होण्डस विजयी भयो ।
उसले क्रमसः १३–१२ र २१–१५ को स्कोरमा जित निकालेको थियो । हिमालयन होण्डसका सौरभ श्रेष्ठ खेलको म्यान अफ द म्यान चुनिए । उनले सर्बाधिक २८ स्कोर गरेका थिए ।