उत्तरी गाजामा इजरायली हवाई आक्रमणः प्रहरी अधिकारीसहित सात जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

असार ३२ २०८३, शुक्रबार

उत्तरी गाजामा इजरायली हवाई आक्रमणः प्रहरी अधिकारीसहित सात जनाको मृत्यु

उत्तरी गाजाको एक सुरक्षा पोस्टमा मंगलबार इजरायलले गरेको हवाई आक्रमणमा परी सात प्यालेस्टिनीको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा हमासद्वारा सञ्चालित गृह प्रशासनसँग आवद्ध प्रहरी अधिकारीहरू समेत रहेको स्थानीय स्रोत र प्रत्यक्षदर्शीले जनाएका छन् । प्रत्यक्षदर्शीका अनुसार इजरायली ड्रोनले जबालिया शरणार्थी शिविरको पश्चिमतर्फ रहेको अल–फालुजा क्षेत्रस्थित एक सुरक्षा पोस्टलाई लक्षित गरी तीनवटा मिसाइल प्रहार गरेको थियो । उक्त आक्रमणबाट ठूलो भौतिक क्षति हुनुका साथै मानवीय हताहति भएको छ । सो सुरक्षा पोस्ट भीडभाडयुक्त बजार र विस्थापित मानिसहरू आश्रय लिइरहेका टेन्टहरू नजिकै अवस्थित रहेको बताइएको छ । चिकित्सा स्रोतहरूले एक महिलासहित सात जनाको मृत्यु भएको र अन्य धेरै व्यक्ति घाइते भएको पुष्टि गरेका छन् । प्यालेस्टिनी गृह प्रशासनले एक विज्ञप्ति जारी गर्दै मृतकहरूमध्ये जबालिया क्याम्प प्रहरी चौकीका निर्देशक मोहम्मद मारवान सालेम पनि रहेको जानकारी दिएको छ । प्रशासनले यस घटनालाई ‘नरसंहार’ को संज्ञा दिँदै तिब्र निन्दा गरेको छ। यस आक्रमणका सम्बन्धमा इजरायली सेनाले हालसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

गाजास्थित स्वास्थ्य मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा अस्पतालहरूमा थप दुई मृत शरीर र २१ जना घाइते ल्याइएको छ । सन् २०२५ अक्टोबरमा युद्धविराम लागू भएयता मृत्यु हुनेको संख्या १,११० पुगेको छ भने ३,५९९ जना घाइते भएका छन् । मन्त्रालयको तथ्यांक अनुसार ७ अक्टोबर २०२३ देखि सुरु भएको द्वन्द्वमा हालसम्म ७३,२३३ प्यालेस्टिनीको मृत्यु भइसकेको छ भने १,७३,७०७ जना घाइते भएका छन् । यसैबीच, प्यालेस्टिनी वित्त तथा योजना मन्त्री स्टेफन एन्टोन सलामेले गाजाको राहत कार्यका लागि अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त प्रतिवद्धता १ अर्ब अमेरिकी डलर पुगेको जानकारी दिएका छन् । आधिकारिक रेडियो ‘भोइस अफ प्यालेस्टाइन’ सँग कुरा गर्दै मन्त्री सलामेले उक्त कोष निकट भविष्यमै गाजाका बासिन्दाहरूको सहयोग र राहतका लागि परिचालन गरिने बताए ।

Leave a Reply

ताजा समाचार