काठमाडौँ ।
नेकपा (एमाले) ले प्रधानमन्त्रीले सीमा विवादका सम्बन्धमा दिएको विवादास्पद अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उक्त भनाइ सच्याउनुपर्ने आफ्नो माग यथावत रहेको स्पष्ट पारेको छ । बुधवार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै एमाले सांसद गङ्गादेवी श्रेष्ठले प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती र आपत्तिजनक रहेको भन्दै सरकारको आलोचना गर्नुभएको हो । सांसद श्रेष्ठले प्रधानमन्त्रीले ‘नेपालले पनि भारतको सीमा मिचेको छ’ भन्ने आशयको अभिव्यक्ति दिनुभएको दाबी गर्दै यसले देशको सार्वभौमिकतामाथि आँच पु¥याएको बताउनु भयो । सांसद श्रेष्ठले सीमा क्षेत्रमा बसोवास गर्ने नेपाली नागरिकको सुरक्षाप्रति सरकार गैरजिम्मेवार बनेको आरोप लगाउनु भयो । सीमाका जङ्गे पिल्लरहरू सारिँदा त्यहाँका जनताले असुरक्षित महशुस गरिरहेको उल्लेख गर्दै उहाँले सुस्ता लगायतका क्षेत्रमा नेपाली नागरिकले भारतीय पक्षसँग एक्लै लड्नुपर्ने अवस्था सिर्जना हुनु दुःखद् भएको बताउनु भयो ।
सांसद श्रेष्ठले मुलुकको सुशासन र समसामयिक राजनीतिक विषयमा पनि सरकारलाई प्रश्न गर्नुभयो । सरकारले भ्रष्टाचार नियन्त्रण र कारबाहीको नाममा ‘नाटक’ गरिरहेको टिप्पणी गर्दै उहाँले गरिब र सुकुम्बासीका बस्तीमा डोजर चलाएर जनतालाई उठिबास लगाएकोमा आक्रोश व्यक्त गर्नुभयो । उहाँले पछिल्लो समय सडकमा देखिएका आन्दोलन र प्रदर्शनहरूमाथि पनि संशय व्यक्त गर्नुभयो । ‘जेन–जी’ को नाममा स्कुले बालबालिकालाई सडकमा उतार्ने र योजनाबद्ध रूपमा हिंसा भड्काउन खोज्ने तत्वहरूबारे छानबिन हुनुपर्ने उहाँको माग छ । संसद्मै रहेका कतिपय सदस्यहरू समेत यस्ता गतिविधिमा संलग्न रहेको दाबी गर्दै उहाँले इतिहासले कसैलाई माफी नदिने बताउनु भयो । उहाँले मुलुकको भूमि बचाउन सबै पक्ष मिल्नुपर्नेमा जोड दिनुभयो ।




