काठमाडौं ।
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. अमरेशकुमार सिंहले सबै राजनीतिक दलहरुलाई एकजुट बनाउने काममा लाग्न सरकारलाई आग्रह गर्नुभएको छ ।
मंगलवार प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले मुलुक संकटमा रहेकाले त्यसलाई बचाउनका लागि सबै राजनीतिक दलहरुलाई एकजुट बनाउने काममा लाग्नुपर्ने भन्दै सरकार र सभामुख डोलप्रसाद अर्यालको ध्यानाकर्षण गराउनुभएको हो । सांसद सिंहले राष्ट्रिय मुद्दा तय गरेर मुलुकलाई संकटबाट जोगाउन पनि सबै राजनीतिक दलहरुलाई एकजुट बनाउनुपर्ने बेला आएको बताउनु भयो । उहाँले राजनीतिक दलहरुबीचको घोचपेचमा मुलुकमा विद्यमान संकट समाधान नहुने पनि बताउनु भयो । सांसद सिंहले सबै पेशा, व्यवसायमा रहेका नागरिकहरु संकटको चपेटामा रहेकाले त्यसबाट पार लगाउन पनि सबै राजनीतिक दलहरुले राष्ट्रिय मुद्धा तय गरेर अघि बढनुको विकल्प नरहेको पनि बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘आज हाम्रो राज्य संकटमा छ । जनतामा नैरश्यता छ । यो देशमा बाँच्न सकिन्न, गर्न सकिन्न यो भाष्य निर्माण यो संसदबाट कम्तिमा नगरौ । म प्रार्थना गर्दछु कि सम्पूर्ण राजनीतिक दललाई, संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुलाई हामी यसलाई घोचपेचको विषय नबनाऔ । राज्य रह्यो भने, नागरिक रह्यो भने लोकतन्त्र रह्यो भने फेरी हामी राजनीति गरौला । कोही सत्ता पक्ष, कोही प्रतिक्षमा रहौला । तर प्रतिपक्ष स्थायी होइन । आज सत्तापक्षमा छ, भोली प्रतिपक्षमा होला । जो हिजो सत्तापक्षमा थियो, आज प्रतिपक्षमा छन । तर जनता र लोकतन्त्र समाप्त भयो भने हामी कहीँ पनि नरहौला । आज देशमा राष्ट्रिय संकट छ । आज जनतामा संकट छ । चारैतिर व्यवसायीदेखि लिएर नागरिक युवादेखि लिएर विद्यार्थीहरुमा समेत निराशा छ । हामीले निराशा नबाँडौ । हामी यसको समाधान गरौ । बरु मिल्छ भने म सभामुखजीलाई आग्रह गर्न चाहन्छु–यहाँ संसद भित्र उपस्थित तमाम दललाई एकजुुट पारौँ, राष्ट्रिय मुद्दा तय गरौ । हामी सम्पूण दलहरु मिले मात्रै यो राष्ट्र बाँच्न सक्छ, संविधान बाँच्न सक्छ । यो देशको लोकतन्त्र बाँच्न सक्छ । देशको नैरश्यता हटन सक्छ । देश निर्माणको जिम्मा लिएर हामी सबै यहाँ उपस्थित भएका छौँ ।’
सांसद सिंहले मुलुकको संविधान र लोकतन्त्रको रक्षाका लागि पनि सरकारले नागरिकमा रहेको निराशा हटाउन पनि पहल गर्नुपर्ने बताउनु भयो ।





