काठमाडौं ।
नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले राष्ट्रिय मानव अधिकार आयोगका सिफारिसहरू कार्यान्वयन नभएको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभएको छ ।
बिहीवार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद केसीले आयोगका सुझाव र प्रतिवेदनहरूको उपेक्षा गरिनु विधिको शासन र लोकतन्त्रकै उपहास भएको बताउनुभएको हो । सांसद केसीले राष्ट्रिय मानव अधिकार आयोग केवल एउटा संवैधानिक निकाय मात्र नभई विश्व मानव अधिकार प्रणालीसँग जोडिएको महत्त्वपूर्ण संरचना भएको उल्लेख गर्नुभयो । आयोगका अध्यक्षलाई उद्धृत गर्दै केसीले हालसम्म आयोगका सुझावहरूमध्ये केवल १३ प्रतिशत मात्र कार्यान्वयनमा आएको जानकारी सदनलाई गराउनु भयो । यस्तो न्युन कार्यान्वयनले लोकतन्त्रको छविमा नकारात्मक असर पर्ने उहाँको तर्क छ ।
सांसद केसीले भन्नुभयो, ‘यसले संयुक्त राष्ट्रसंघीय मानव अधिकारलगायत अन्तर्राष्ट्रिय निकायहरूसँग सहकार्य गर्दै नेपालको मानव अधिकारको अवस्थाबारे विश्व समुदायलाई जानकारी गराउँछ । आयोगको प्रतिवेदन र सिफारिसहरूको उपेक्षा गर्नु राष्ट्रिय मानव अधिकार आयोगको अवमूल्यन मात्र नभई नेपालको अन्तर्राष्ट्रिय प्रतिबद्धता र विश्वसनीयतामाथि समेत आँच पु¥याउनु हो ।’
सांसद केसीले आयोगकी सदस्य लिली थापाको प्रतिवेदन हालसम्म सार्वजनिक नभएकोमा आपत्ति प्रकट गर्नुभयो । प्रतिवेदन सार्वजनिक नगरिनुलाई ‘दुःखद र खेदपूर्ण’ भन्दै उहाँले उक्त प्रतिवेदन यथाशीघ्र सार्वजनिक गर्न, सांसदहरूलाई उपलब्ध गराउन र सिफारिसका आधारमा अविलम्ब कानुनी कारबाहीको प्रक्रिया अघि बढाउन माग गर्नुभएको छ ।




