फ्रान्सेली राष्ट्रपति म्याक्रोँको सिरिया भ्रमणका क्रममा दमास्कसमा विस्फोट, १८ जना घाइते | ईमाउण्टेन समाचार

Our Network

असार २३ २०८३, बुधवार

फ्रान्सेली राष्ट्रपति म्याक्रोँको सिरिया भ्रमणका क्रममा दमास्कसमा विस्फोट, १८ जना घाइते

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँको सिरिया भ्रमणका क्रममा राजधानी दमास्कसको मध्यभागमा मंगलवार भएका दुईवटा विस्फोटमा परी १८ जना घाइते भएका छन् । सिरियाली गृह मन्त्रालयकाअनुसार घाइते हुनेहरूमध्ये चार जना प्रहरी अधिकारी रहेका छन् । विस्फोट राजधानीको फोर सिजन्स होटल नजिकै रहेको पर्यटन मन्त्रालयको कार्यालय आसपास भएको जनाइएको छ । गृह मन्त्रालयले उक्त विस्फोट राष्ट्रपति म्याक्रोँको निवासका लागि तोकिएको सुरक्षा घेराबाहिर भएको स्पष्ट पारेको छ । यस घटनाबाट राष्ट्रपतिको भ्रमण र सुरक्षामा कुनै प्रत्यक्ष खतरा उत्पन्न नभएको र औपचारिक भ्रमणका कार्यक्रमहरू पूर्वनिर्धारित तालिका अनुसार नै जारी रहेको मन्त्रालयले उल्लेख गरेको छ ।
विस्फोटको खबर सार्वजनिक भएको केही समय लगतै सिरियाली राष्ट्रपति अहमद अल–शराले ‘पिपल्स प्यालेस’मा राष्ट्रपति म्याक्रोँलाई स्वागत गर्नुभएको राज्य नियन्त्रित सञ्चारमाध्यमहरूले जनाएका छन् ।
सिरियाली समाचार निकाय (साना) का अनुसार सुरक्षा बलले ती स्थानमा दुईवटा विस्फोटक उपकरणहरू फेला पारेका थिए । ती उपकरणहरूलाई निष्क्रिय पार्ने प्रक्रिया शुरु भइरहेका बेला विस्फोट भएको गृह मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ । प्रारम्भिक अनुसन्धानकाअनुसार उक्त घरेलु विस्फोटक उपकरणहरू (आईईडी) एउटा पार्क गरिएको सवारी साधन र सडक किनारको फोहोर फाल्ने कन्टेनरभित्र राखिएका थिए ।
घटनापछि सुरक्षा निकायले सर्वसाधारणको सुरक्षालाई ध्यानमा राख्दै उक्त क्षेत्रमा घेराबन्दी गरेको छ। विशेषज्ञ टोलीहरूले सो क्षेत्रमा थप सुरक्षा अपरेसन र खानतलासी जारी राखेको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

ताजा समाचार