नेटो शिखर सम्मेलनको पूर्वसन्ध्यामा अंकारामा सुरक्षा अपरेसनः ४६ जना संदिग्ध पक्राउ | ईमाउण्टेन समाचार

Our Network

असार २२ २०८३, मंगलबार

नेटो शिखर सम्मेलनको पूर्वसन्ध्यामा अंकारामा सुरक्षा अपरेसनः ४६ जना संदिग्ध पक्राउ

टर्कीको राजधानी अंकारामा आगामी नेटो शिखर सम्मेलनलाई लक्षित गरी सञ्चालित विशेष सुरक्षा अपरेसनका क्रममा प्रहरीले ४६ जना संदिग्ध व्यक्तिहरूलाई नियन्त्रणमा लिएको छ । जुलाई ७ र ८ तारिखमा आयोजना हुन लागेको उक्त सम्मेलनको सुरक्षा सुनिश्चित गर्न टर्कीका सुरक्षा निकायहरूले निगरानी तीव्र पारेका हुन् । टर्किस सञ्चारमाध्यम हबर्तुर्ककाअनुसार अंकाराका मुख्य सरकारी वकिलको कार्यालयको समन्वयमा यो कारबाही अगाडि बढाइएको हो । अपरेसनमा अंकारा प्रहरी विभागको सार्वजनिक सुरक्षा शाखा र अन्य विशेष सुरक्षा एकाइहरूको सहभागिता रहेको थियो । प्राविधिक तथा भौतिक निगरानीका आधारमा पहिचान गरिएका यी संदिग्धहरूमाथि सामाजिक सञ्जालमा हातहतियार प्रदर्शन गरेको र विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेको आरोप छ । प्रहरीकाअनुसार पक्राउ परेका व्यक्तिहरूको विस्तृत आपराधिक पृष्ठभूमि रहेको र उनीहरू हतियारसम्बन्धी विभिन्न घटनाहरूमा संलग्न रहँदै आएका थिए । प्रहरीले सहरका विभिन्न स्थानमा एकसाथ छापा मारी संदिग्धहरूलाई नियन्त्रणमा लिनुका साथै आपराधिक गतिविधि पुष्टि गर्ने प्रमाणहरू समेत बरामद गरेको छ । हाल उनीहरू प्रहरी हिरासतमा रहेका र आवश्यक कानूनी प्रक्रिया अगाडि बढाइएको समाचारमा उल्लेख छ । नेटो सम्मेलनलाई मध्यनजर गर्दै अंकाराभर सुरक्षा व्यवस्थामा व्यापक कडाइ गरिएको छ । सम्मेलन स्थल र त्यस वरपरका क्षेत्रहरूमा सुरक्षा घेरा बढाइनुका साथै प्रहरीले चौबिसै घण्टा गस्ती र निरीक्षण कार्यलाई तीव्रता दिएको छ । टर्किस अधिकारीहरूले सम्मेलन अवधिभर सार्वजनिक सुव्यवस्था र सुरक्षा कायम गर्न आवश्यक सम्पूर्ण न्यायिक, प्रशासनिक र सुरक्षात्मक उपायहरू अवलम्बन गरिएको जानकारी दिएका छन् । सुरक्षा निकायहरूले आगामी दिनमा पनि यस्ता निरीक्षण र अपरेसनहरू जारी रहने बताएका छन् ।

Leave a Reply

ताजा समाचार