कोशी प्रदेशमै पहिलो पटक दूरबिन प्रविधिबाट मेरुदण्डको सफल शल्यक्रिया | ईमाउण्टेन समाचार

Our Network

असार २० २०८३, आइतबार

कोशी प्रदेशमै पहिलो पटक दूरबिन प्रविधिबाट मेरुदण्डको सफल शल्यक्रिया

झापा : झापाको शिवसताक्षी नगरपालिका–८ झिलझिलेका १८ वर्षीय युकेश लिम्बू केही समययता देब्रे खुट्टा नचल्ने समस्याबाट पीडित थिए। मेरुदण्डको नसा च्यापिएपछि दैनिक हिँडडुलमा कठिनाइ बढ्दै गएको थियो। परिवारले दमकस्थित एक अस्पतालमा उपचारको प्रयास गरे पनि शल्यक्रियाबारे स्पष्ट विकल्प पाउन सकेका थिएनन्।

अन्ततः उनले बिर्तासिटी अस्पतालमा अर्थोपेडिक तथा स्पाइन सर्जन डा. रुपेशजंग बेलवासेलाई भेटे। डा. बेलवासेले दूरबिन (एन्डोस्कोपिक) प्रविधिबाट उपचार सम्भव रहेको जानकारी दिएपछि परिवारले सोही प्रविधिबाट शल्यक्रिया गराउने निर्णय गर्‍यो।

असार १८ गते गरिएको दूरबिन (एन्डोस्कोपिक) प्रविधिबाट गरिएको शल्यक्रिया सफल भएको अस्पतालले जनाएको छ। अस्पतालका अनुसार मेरुदण्डको नसा च्यापिएको समस्याको यस्तो शल्यक्रिया कोशी प्रदेशमै पहिलो पटक गरिएको हो।

शल्यक्रियाको नेतृत्व अर्थोपेडिक तथा स्पाइन सर्जन डा. रुपेशजंग बेलवासेले गरेका थिए। उनी बिर्तासिटी अस्पतालको ट्रमा सर्जरी, जोइन्ट रिप्लेसमेन्ट तथा स्पोर्ट्स इन्जुरी विभाग प्रमुखका रूपमा कार्यरत छन्। उनकै नेतृत्वको टोलीले लिम्बूको सफल शल्यक्रिया गरेको हो।

डा. बेलवासेले चीनको पेकिङ विश्वविद्यालयमा छात्रवृत्तिमार्फत विशेष तालिम लिएपछि नेपालमा यो प्रविधि प्रयोगमा ल्याएका हुन्। उनले कोशी प्रदेशमै पहिलो पटक बिर्तासिटी अस्पतालमार्फत एन्डोस्कोपिक स्पाइन सर्जरी सेवा सुरु गरेका हुन्।

परम्परागत खुला शल्यक्रियाको तुलनामा एन्डोस्कोपिक विधिमा शरीरमा ठूलो चिरा लगाउनुपर्दैन। यसमा सानो आकारका दुईवटा प्वाल बनाएर विशेष दूरबिन र उपकरणको सहायताले मेरुदण्डको च्यापिएको नसासम्म पुगेर उपचार गरिन्छ।

डा. बेलवासेका अनुसार यस विधिबाट उपचार गर्दा बिरामीलाई रड वा अतिरिक्त धातुजन्य संरचना राख्नुपर्ने आवश्यकता पर्दैन। शल्यक्रियापछि लामो समय ओछ्यानमा आराम गर्नुपर्ने बाध्यता पनि हट्छ।

‘सामान्यतया अन्य विधिबाट गरिएको मेरुदण्डको शल्यक्रियापछि कम्तीमा एक महिना आराम गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘तर एन्डोस्कोपिक प्रविधिमा बिरामी भोलिपल्टदेखि नै हिँडडुल गर्न सक्छ। घाउ सानो हुने भएकाले संक्रमणको जोखिम कम हुन्छ र निको हुने समय पनि छोटो हुन्छ।’

उनका अनुसार न्यून चिरफार (मिनिमली इनभेसिभ) शल्यक्रिया प्रविधि पछिल्ला वर्षहरूमा विश्वभर लोकप्रिय बन्दै गएको छ। कम रक्तस्राव, कम पीडा, छोटो अस्पताल बसाइ र छिटो पुनःस्थापना यसका प्रमुख विशेषता हुन्।

नेपालमा भने यस्तो प्रविधि सीमित अस्पताल र चिकित्सकमा मात्रै उपलब्ध छ। राजधानीबाहिर, विशेषगरी प्रदेशस्तरमै यस्तो सेवा उपलब्ध हुन थालेपछि बिरामीले उपचारका लागि काठमाडौं वा भारत धाउनुपर्ने बाध्यता केही हदसम्म घट्ने अपेक्षा गरिएको डा. बेलवासेको भनाइ छ।

बिर्तासिटी अस्पताल प्रशासनका अनुसार एन्डोस्कोपिक स्पाइन सर्जरीमा लाग्ने खर्च पनि तुलनात्मक रूपमा कम पर्न सक्छ। शल्यक्रियाका लागि दुईवटा साना प्वाल मात्र बनाउनुपर्ने, सामान्य टाँकाले काम चल्ने र घाउ छिट्टै निको हुने भएकाले बिरामीको आर्थिक तथा सामाजिक भार कम हुने दाबी गरिएको छ।

उपचारपछि लिम्बूले स्वास्थ्यमा उल्लेखनीय सुधार आएको बताउँदै उपचारमा संलग्न चिकित्सक तथा अस्पतालप्रति आभार व्यक्त गरेका छन्।

‘अब सामान्य जीवनमा फर्किन सक्ने आशा बढेको छ,’ उनले भने।

दूरबिन प्रविधिबाट सफल शल्यक्रियापछि उनलाई वार्डमा सारिएको छ। सामान्य हिँडडुल गर्न सक्ने भएपछि छिट्टै डिस्चार्ज गरिने अस्पतालले जनाएको छ।

को हुन् डा. रुपेशजंग बेलवासे

पछिल्ला वर्षहरूमा पूर्वी नेपालमा हाडजोर्नी उपचारमा आधुनिक प्रविधिको प्रयोग बढ्दै गएको छ। यही परिवर्तनको अग्रपङ्क्तिमा देखिने चिकित्सकमध्ये एक हुन् डा. रुपेशजंग बेलवासे। घुँडा तथा हिप प्रत्यारोपण, आर्थ्रोस्कोपी र न्यून चिरफारमार्फत गरिने शल्यक्रियामा विशेषज्ञता हासिल गरेका बेलवासे हाल झापाको बिर्तामोडस्थित पी.टी. बिर्तासिटी अस्पताल तथा रिसर्च सेन्टरमा ट्रमा सर्जरी, जोइन्ट रिप्लेसमेन्ट तथा स्पोर्ट्स इन्जुरी विभाग प्रमुखका रूपमा कार्यरत छन्।

ललितपुरको सैँबु निवासी बेलवासेले सन् २०१२ मा नेपाल मेडिकल कलेजबाट एमबीबीएस पूरा गरेका थिए। त्यसपछि भारतको बनारस हिन्दु विश्वविद्यालयबाट सन् २०१५ देखि २०१८ सम्म अर्थोपेडिक्स तथा ट्रमाटोलोजीमा एमएस अध्ययन गरे। अस्पताल व्यवस्थापनलाई पनि समान महत्त्व दिँदै उनले स्वामी विवेकानन्द सुभार्ती विश्वविद्यालयबाट अस्पताल व्यवस्थापनमा एमबीएसमेत गरेका छन्।

उच्च शिक्षापछि उनले भारतको इन्द्रप्रस्थ अपोलो अस्पतालमा आर्थ्रोप्लास्टी र आर्थ्रोस्कोपीसम्बन्धी फेलोसिप गरे। त्यसपछि अष्ट्रियाको मेडिकल युनिभर्सिटी अफ भियनामा प्राध्यापक थोमस मुल्नरको मार्गदर्शनमा घुँडा तथा हिप प्रत्यारोपण र काँध तथा घुँडाको आर्थ्रोस्कोपीमा थप विशेषज्ञता हासिल गरे। सन् २०२३ मा हंगेरीको सेगेड विश्वविद्यालयमा एओ ट्रमा फेलोसिपसमेत पूरा गरेका थिए।

बेलवासेको विशेषज्ञता हिप र घुँडाको प्रत्यारोपण, खेलकुदजन्य चोटपटकको उपचार, न्यून चिरफार शल्यक्रिया तथा रोबोटिक सहयोगमा गरिने जोइन्ट रिप्लेसमेन्टसम्म फैलिएको छ।

उनी चिकित्सक मात्र नभई अनुसन्धानकर्ताका रूपमा पनि सक्रिय छन्। हाडजोर्नी उपचार, फ्र्याक्चर व्यवस्थापन, पोषण तथा हड्डीको स्वास्थ्यलगायत विषयमा उनका दुई दर्जनभन्दा बढी अनुसन्धान तथा लेख अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित भएका छन्। सन् २०२४ मा झापाका स्वास्थ्यकर्मीहरूमा अस्पतालजन्य सङ्क्रमणसम्बन्धी ज्ञान, दृष्टिकोण र व्यवहारबारे गरिएको अध्ययन पनि प्रकाशित भएको थियो।

अन्तर्राष्ट्रिय स्तरका सम्मेलनहरूमा शोधपत्र तथा पोस्टर प्रस्तुत गरेका बेलवासेले दक्षिण अफ्रिका, अष्ट्रिया, हंगेरी, भारत, चीन र नेपालका विभिन्न वैज्ञानिक मञ्चहरूमा सहभागिता जनाइसकेका छन्। शोधपत्र प्रस्तुतिका लागि उनी यही वर्ष दक्षिण कोरिया र अमेरिका जाने तयारीमा छन्। उनले जर्नल अफ क्लिनिकल अर्थोपेडिक्स एन्ड ट्रमा बाट उत्कृष्ट समीक्षकको प्रमाणपत्रसमेत प्राप्त गरेका छन्।

व्यावसायिक रूपमा उनी नेपाल अर्थोपेडिक एसोसिएसन, इन्डियन अर्थोपेडिक एसोसिएसन, एसिया प्यासिफिक अर्थोपेडिक एसोसिएसन, इन्टरनेसनल सोसाइटी अफ आर्थ्रोस्कोपीलगायत विभिन्न अन्तर्राष्ट्रिय संस्थाका सदस्य हुन्। हाल उनी नेपाल अर्थोपेडिक एसोसिएसनको मेची च्याप्टरका महासचिवको जिम्मेवारीमा छन्।

Leave a Reply