काठमाडौं ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल ग्रे लिष्टबाट ब्ल्याक लिष्टमा झर्ने उच्च जोखिममा रहेको बताउनुभएको छ । राष्ट्रिय सभामा शनिवार सम्पती शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ माथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उहाँले तत्काल आवश्यक सुधार गर्नु आवश्यक रहेको बताउनुभएको हो । २०८१ फागुनदेखि नेपाल ग्रे लिष्टमा रहेको उल्लेख गर्दै उहाँले तदारुकताको साथ आवश्यक सुधार र सुशासनका कामलाई तिब्रता दिन नसके मुलुक ब्ल्याक लिष्टमा पुग्न सक्ने बताउनु भयो । अर्थमन्त्री वाग्लेले ब्ल्याक लिष्टमा परेमा नेपाल सोमालिया, हाईटी जस्तो मुलुकको दर्जामा पुग्ने बताउनु भयो ।
उहाँले नेपालको अन्तर्राष्ट्रिय साख उकास्न सुशासन, वित्तीय अनुशासन र अन्तर्राष्ट्रिय मापदण्डको प्रभावकारी कार्यान्वयन अपरिहार्य रहेकोले यो विधेयक ल्याईएको बताउनु भयो । उहाँले कानूनको प्रभावकारी कार्यन्वयन गर्न नसक्दा मुलुक ग्रे लिष्टमा परेको उल्लेख गर्नुभयो ।उहाँले वर्तमान सरकार सुशासनसम्बन्धी कार्यमा निर्मम भएर लागेको बताउनुभयो । सम्पत्ति शद्धिकरणसम्बन्धी मुद्दालाई प्रतिसोधको हतियार आफूहरुले नबनाउने पनि उहाँको भनाई छ । वर्तमान सरकार निर्माण भएपछि मुलुकलाई ग्रे लिष्टबाट निकाल्न उल्लेख्य प्रगति भएको उहाँको दाबी छ ।




