काठमाडौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले नेपालको विकासका लागि विदेशी मोडेलको अनुकरण गर्न नहुने बताउनुभएको छ । ‘चिनियाँ कम्युनिष्ट पार्टीको १०५ वर्षः ऐतिहासिक अनुभव र नेपालको विकास’ सम्बन्धी विचार गोष्ठीलाई सम्बोधन गर्दै नेता शाहीले विकास बाहिरबाट आयात गर्ने विषय नभएको बताउनुभएको हो । उहाँले नेपाली माटो र यथार्थमा आधारित मौलिक मार्ग अवलम्बन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले अन्य देशमा सफल भएको विकासको मोडेल नेपालको भौगोलिक र सामाजिक परिवेशमा हुबहु लागू हुन नसक्ने उल्लेख गर्दै राष्ट्रिय हितलाई केन्द्रमा राखेर विकासको नेपाली मार्ग निर्माण गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । नेपालको वर्तमान समस्या सम्भावनाको अभाव नभई कार्यान्वयनको कमजोरी रहेको उहाँको तर्क छ ।
उहाँले मुलुकको आर्थिक समृद्धिका लागि स्थानीय उद्योगको विकास, कृषिको आधुनिकीकरण र स्वच्छ ऊर्जाको अधिकतम उपयोग आवश्यक रहेको बताउनु भयो । नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउन दीर्घकालीन संरचनात्मक लगानी र पूर्वाधार निर्माणमा राज्यले ध्यान दिनुपर्ने उहाँको सुझाव छ ।नेपाल–चीन सम्बन्धका बारेमा चर्चा गर्दै नेता शाहीले दुई देशबीचको सम्बन्ध पारस्परिक सम्मान, सार्वभौमिक समानता, भौगोलिक अखण्डताको सम्मान र अनाहस्तक्षेपको सिद्धान्तमा आधारित रहेको बताउनु भयो । उहाँले एक शक्तिशाली र आर्थिक रूपमा आत्मनिर्भर नेपाल नै यस क्षेत्रको शान्ति र स्थिरताको आधार भएको उल्लेख गर्नुभयो । चिनियाँ कम्युनिष्ट पार्टीको ऐतिहासिक यात्राबाट नेपालले सुशासन र विधिको शासनका सन्दर्भमा महत्वपूर्ण पाठ सिक्नुपर्ने उहाँको भनाइ थियो । नेपालको विद्यमान राजनीतिक प्रवृत्तिको आलोचना गर्दै उहाँले राजनीतिक नियुक्तिहरूमा अझै पनि दलीय भागबण्डा र कार्यकर्ता भर्तीको पुरानो संस्कार कायम रहेको बताउनु भयो । पात्रहरू फेरिए पनि प्रवृत्ति नफेरिएको र विधिको शासन स्थापित हुन नसकेको भन्दै उहाँले यस्तो परिपाटीको अन्त्य हुनुपर्नेमा जोड दिनुभयो ।




