काठमाडौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ताहिर अली भाटले प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति तत्काल संसद्को रेकर्डबाट हटाउन माग गर्नुभएको छ । बिहीवार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद भाटले राष्ट्रभन्दा माथि कोही हुन नसक्ने भन्दै प्रधानमन्त्रीद्वारा व्यक्त केही अंश हटाउन सभामुखको ध्यानाकर्षण गराउनुभएको हो । बैठकमा विशेष समय लिएर बोल्दै सांसद भाटले संसद सुचारु गर्न प्रतिपक्ष सधैँ लचिलो देखिए पनि सत्तापक्षले प्रतिपक्षका जायज माग र आवाजलाई गम्भीरतापूर्वक नलिएको आरोप लगाउनु भयो ।
प्रधानमन्त्रीले सदनमा उपस्थित भएर यथार्थ जानकारीसहित देशको नाममा सम्बोधन गरेमा उनको सम्मान र गरिमा झन् बढ्ने धारणा उनले व्यक्त गर्नुभयो । सांसद भाटले इन्धनको उच्च मूल्यवृद्धिका कारण सर्वसाधारण र किसानहरू चरम मर्कामा परेको भन्दै सरकारको आलोचना गर्नुभयो । खेतीपातीको मुख्य समयमा इन्धनको मूल्य बढी हुँदा कृषि क्षेत्र प्रत्यक्ष प्रभावित भएको उल्लेख गर्दै उहाँले यो ‘जनताको सरकार’ हो भने तत्काल इन्धनको मूल्य घटाएर किसानलाई राहत दिन माग गर्नुभयो । वर्तमान अवस्थामा इन्धन बिना खेतीपाती सम्भव नरहेकाले सरकारले अविलम्ब मूल्य समायोजन गर्नुपर्नेमा उनले जोड दिनुभयो ।




