एजेन्सी, ९ फागुन । सिरियाको पूर्वी क्षेत्र गुटामा सरकारी सेनाले दुई दिनदेखि लगातार चलाईरहेको सैन्य अभियानका क्रममा २ सय ५० भन्दा बढी सर्वसाधारणको मृत्यु भएको छ ।
विद्रोही नियन्त्रित पूर्वी क्षेत्र गुटामा सरकारी सेनाले दुई दिनदेखि लगातार बमबारी गरिरहेको छ । बमबारीमा परि मृत्यु हुनेमा ५० जनाभन्दा बढी बालबालिका रहेको बताइएको छ । सिरियाली सहायता संगठनले सन् २०१३ पछि राजधानी दमास्कस नजिक यो नै सबैभन्दा ठूलो आक्रमण भएको जनाएका छन् । संयुक्त राष्ट्र संघले अवस्था नियन्त्रण बाहिर गइरहेको जनाएको छ ।
राष्ट्र संघले दुई दिनको आक्रमणमा ६ वटा अस्पताललाई निशाना बनाइएको दाबी गरेको छ । संयुक्त राष्ट्र संघका प्रवत्ता रियाल लेबलाङले नागरिक, अस्पताल र विद्यालयमा लगातार भइरहेको हिंसाको निन्दा गरेका छन् । सिरियामा लगातार सर्वसाधारण मारिएका खबरहरु सार्वजनिक भइरहँदा त्यहाँको सेनाले त्यसको खण्डन गरेको छैन । सिरियाका सांसदहरुले भने चरमपन्थीमाथि नै हमला गरिएको दाबी गरेका छन् ।