काठमाडौं ।
संघीय संसदअन्तर्गतका विभिन्न विषयगत समितिहरूको बैठक आज बस्दैछ । बैठकमा समितिको आन्तरिक कार्यविधि, विकास निर्माणका कार्ययोजना तथा समसामयिक विषयहरूमा केन्द्रित रही दफावार छलफल हुने भएको हो । अर्थ समितिको बैठकमा समितिको प्रश्तावित मस्यौदा कार्यविधि माथि विस्तृत छलफल हुने भएको छ । समितिको कामकारबाहीलाई व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले तयार पारिएको उक्त मस्यौदामा सदस्यहरूले आ–आफ्नो धारणा राख्नुहुनेछ । पूर्वाधार विकास समितिको बैठकमा सार्वजनिक यातायात र ढुवानी व्यवस्थापनका विषयमा छलफल हुनेछ । बैठकमा सार्वजनिक सवारी साधनको व्यवस्थापन, ढुवानी प्रक्रियामा रहेका समस्या र तिनको समाधानका उपायहरूसहित विविध प्राविधिक विषयमा हुनेछ ।
विधायन व्यवस्थापन समितिमा आफ्नो वार्षिक कार्ययोजनाका विषयमा केन्द्रित भई छलफल हुनेछ । समितिको आगामी कार्यदिशा तय गर्न र विधायिकी कार्यलाई थप चुस्त बनाउन वार्षिक कार्ययोजनाको खाका प्रश्तुत हुनेछ ।
यसैगरी, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले सिंहदरबारस्थित पुरानो संसद भवन (ग्यालरी बैठक) को निर्माण कार्ययोजनाका सम्बन्धमा शहरी विकास तथा भवन निर्माण विभागसँग छलफल हुनेछ । संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा समितिको कार्यक्षेत्रभित्र रहेका उपसमितिहरूको कार्यक्षेत्रमा केही परिमार्जन र हेरफेर हुनेछ ।




