अन्तर्राष्ट्रिय विमानस्थलको लगानी, सुरक्षा र व्यवस्थापनमा सांसदहरूको प्रश्नः विस्तृत प्रतिवेदन माग | ईमाउण्टेन समाचार

Our Network

जेठ २९ २०८३, शनिबार

अन्तर्राष्ट्रिय विमानस्थलको लगानी, सुरक्षा र व्यवस्थापनमा सांसदहरूको प्रश्नः विस्तृत प्रतिवेदन माग

काठमाडौं ।

सांसदहरूले मुलुकका अन्तर्राष्ट्रिय विमानस्थलहरूको लगानी, सञ्चालन र व्यवस्थापकीय पक्षमाथि गम्भीर प्रश्न उठाएका छन् । शुक्रवार बसेको सङ्घीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको प्रतिफल तथा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको सेवा प्रवाहमा देखिएका कमजोरीलाई लिएर सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका हुन् । समितिको बैठकमा सांसदहरूले हवाई सुरक्षा, युरोपेली युनियनको सुरक्षा सूची र विमानस्थलको भौतिक पूर्वाधार सुधारका लागि ठोस कदम चाल्न माग गरेका छन् । नेकपा एमालेका सांसद डा. अर्जुनकुमार कार्कीले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको लगानी, सम्भाव्यता अध्ययन र व्यवस्थापकीय पक्षमाथि प्रश्न उठाउनु भयो ।  शुक्रवार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उहाँले यी आयोजनाहरूको विस्तृत प्रतिवेदन समितिमा उपलब्ध गराउन माग गर्नुभयो । सांसद कार्कीले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरको ठूलो लगानीमा निर्माण गरिएका यी विमानस्थलहरूको ‘लागत–लाभ विश्लेषण’ र लगानीको प्रतिफलबारे चासो व्यक्त गर्नुभयो ।

हवाई सुरक्षा र युरोपेली युनियनको सुरक्षा सूचीको विषयमा चर्चा गर्दै उहाँले नेपाल १२ वर्षसम्म सूचीबाट हट्न नसक्नु राष्ट्रिय लज्जाको विषय भएको बताउनु भयो । यसमा शिघ्र र प्रभावकारी कदम चाल्न उहाँले सरकारको ध्यानाकर्षण गराउनु भयो । साथै आकाशमा जहाजहरू अनावश्यक रूपमा लामो समय होल्ड गरिँदा विदेशी पर्यटकमा नकारात्मक सन्देश जाने र यसले मुलुकको छविमा आँच पुग्ने उहाँको तर्क थियो । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको व्यवस्थापकीय कमजोरीप्रति टिप्पणी गर्दै सांसद कार्कीले सामान्य ट्रली व्यवस्थापन र शौचालयको सरसफाइ समेत हुन नसक्नु दुःखद् रहेको बताउनु भयो । उहाँले उच्च अधिकारीहरूलाई आफैँ यात्रु बनेर विमानस्थलको सेवा र गुणस्तरको नियमित अनुगमन गर्न सुझाव समेत दिनुभयो । पर्यटन क्षेत्रलाई गरिबी निवारण र राष्ट्रिय विकासको मेरुदण्ड भएको बताउँदै डा. कार्कीले यस मन्त्रालयलाई पर्याप्त बजेट विनियोजन नगरिएकोमा असन्तुष्टि व्यक्त गर्नुभयो । पर्यटनमा वैदेशिक लगानी भित्र्याउन र राजश्व अभिवृद्धिका लागि दीर्घकालीन रणनीति आवश्यक रहेको उहाँको भनाइ थियो । समितिले पनि यस क्षेत्रको विकासका लागि विशेष पहल गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।  नेपाली कम्युनिस्ट पार्टीका सांसद गणेशबहादुर विश्वकर्माले मुलुकको हवाई र सडक यातायातलाई एकीकृत परियोजनाका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो । सांसद विश्वकर्माले विमानस्थलको निर्माण र सञ्चालनलाई सडक पूर्वाधारसँग जोडेर मात्र प्रभावकारी बनाउन सकिने धारणा राख्नुभयो । सांसद विश्वकर्माले कुनैपनि गन्तव्यमा पुग्न सडक मार्गबाट घण्टौँ समय लाग्ने गरेको उल्लेख गर्दै विमानस्थलको विकासलाई सडक सञ्जालसँग एकीकृत गर्नुपर्ने बताउनु भयो । उहाँले विमानस्थलका ‘भिआइपी’ कक्षहरूको व्यवस्थापनमा देखिएको कमजोरीप्रति पनि सरकारको ध्यानाकर्षण गराउनु भयो । कुनै अतिथिमाथि अपमान भएको निहुँमा भिआइपी कक्ष नै बन्द गरिदिने प्रवृत्ति गलत भएको टिप्पणी गर्दै उहाँले स्पष्ट नियम बनाएर यस्ता कक्ष सञ्चालन गर्नुपर्ने बताउनु भयो । मोफसलका विमानस्थलहरूमा पूर्वप्रधानमन्त्री र पूर्वराष्ट्रपतिहरूले मर्यादित बस्ने ठाउँ नपाएको भन्दै उहाँले यसतर्फ गम्भीर हुन आग्रह गर्नुभयो ।

त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप र क्षमताका विषयमा बोल्दै सांसद विश्वकर्माले विमानस्थलको भौतिक क्षमता नबढाई यात्रु संख्या मात्र थप्नु जोखिमपूर्ण हुने बताउनु भयो ।  अध्ययन समितिले सुझाए बमोजिम सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडल वा अन्य वैकल्पिक मार्गहरू खोज्नुपर्नेमा उहाँको जोड थियो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका सन्दर्भमा छिमेकी राष्ट्र भारतले नजिकै अर्को विमानस्थल निर्माण गरेका कारण उत्पन्न हुनसक्ने चुनौतीप्रति उहाँले सचेत गराउनु भयो । यस समस्यालाई कुटनीतिक माध्यमबाट हल गर्नुपर्ने र विमानस्थल निर्माणमा देखिएका भ्रष्टाचारजन्य मुद्दाहरू, जुन हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा विचाराधीन छन्, तिनलाई पनि सम्बोधन गर्नुपर्ने उहाँको माग छ । सांसद विश्वकर्माले सानातिना अध्ययन समिति बनाएर वा सामान्य सुधार गरेर मात्रै हवाई क्षेत्रका समस्या समाधान नहुने उल्लेख गर्नुभयो ।

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद अनुष्का श्रेष्ठले अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक पूर्वाधार, व्यवस्थापन र सेवा प्रवाहमा व्यापक सुधारको आवश्यकता रहेको बताउनु भयो । सांसद श्रेष्ठले विमानस्थलको आन्तरिक पूर्वाधारअन्तर्गत एस्केलेटर, लिफ्ट, ट्रली, शौचालय र पार्किङको उचित व्यवस्थापन हुनुपर्नेमा जोड दिनुभयो । विमानस्थलमा रहेका पुराना पंखाहरूका कारण हुने ध्वनि प्रदूषणले यात्रुहरूलाई असुविधा पुगेको बताउँदै उहाँले बजेटमा विनियोजित रकमलाई विमानस्थल स्तरोन्नतिका लागि प्रभावकारी रूपमा खर्च गर्नुपर्ने सुझाव दिनुभयो । विमानस्थल भित्र सञ्चालित पसलहरूको व्यावसायिक एकाधिकार (मोनोपोली) माथि प्रश्न उठाउनु भयो । व्यवस्थापनलाई चुस्त बनाउन सांसद श्रेष्ठले फ्लोर म्यानेजरको अवधारणा अघि सार्नुभएको छ । सरसफाइ र मर्मतसम्भारको जिम्मेवारी स्पष्ट नहुँदा सानातिना समस्याहरू जस्तै– जताततै स्टिकर टाँसिने र फोहोर व्यवस्थापनमा ढिलाइ हुने गरेको उहाँको तर्क छ ।

शौचालयको सरसफाइलाई आधुनिक र प्रविधिमैत्री बनाउनुपर्ने माग गर्दै उहाँले डिजिटल ड्यासबोर्ड र यात्रुहरूको अनुभव संकलन गर्ने स्माइली फिडब्याक प्रणाली राख्न सुझाव दिनुभयो । कतिपय स्थानमा सरसफाई निरीक्षकको सम्पर्क नम्बर नभएको उल्लेख गर्दै उहाँले स–साना कुरामा ध्यान दिँदा मात्रै सुधार देखिने बताउनु भयो। । यसैगरी, विमानस्थलको सूचना संप्रेषण प्रणालीलाई प्रभावकारी बनाउनुपर्नेमा उहाँको जोड थियो । कतिपय अवस्थामा पुराना भिडियोहरूका कारण विमानस्थल र हवाई सुरक्षाबारे भ्रम फैलिरहेको भन्दै उहाँले आधिकारिक जानकारी तत्काल सार्वजनिक गर्ने संयन्त्र बलियो बनाउनुपर्ने धारणा व्यक्त गर्नुभयो । हवाई सुरक्षाका सन्दर्भमा नेपालको स्थितिबारे नकारात्मक सन्देश प्रवाह भइरहेकोमा चिन्ता व्यक्त गर्दै उहाँले यथार्थ जानकारी बाहिर ल्याउन र सञ्चार माध्यमसँगको सम्बन्धलाई थप व्यवस्थित बनाउन सरकारलाई आग्रह गर्नुभएको छ ।

Leave a Reply