आगामी आर्थिक वर्षको बजेटमाथि प्रतिनिधि सभामा छलफल शुरु हुँदै, विभिन्न विधेयकहरू पनि पेश गरिने | ईमाउण्टेन समाचार

Our Network

भदौ ३ २०८३, बिहीबार

आगामी आर्थिक वर्षको बजेटमाथि प्रतिनिधि सभामा छलफल शुरु हुँदै, विभिन्न विधेयकहरू पनि पेश गरिने

काठमाडौँ ।

प्रतिनिधि सभाको सोमवार बस्ने बैठकमा आर्थिक वर्ष २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सामान्य छलफल प्रारम्भ हुने भएको छ । संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार बजेटमाथिको छलफलसँगै विभिन्न विधेयकहरू पेश गर्ने कार्यक्रम तय गरिएको छ । बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘आ.व. २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रश्ताव प्रश्तुत गर्नुहुनेछ । बजेटमाथि सांसदहरूले राखेका जिज्ञासा र छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ समेत सोही दिन अर्थमन्त्रीले दिनुहुने कार्यसूची रहेको छ । व्यवस्थापन कार्यअन्तर्गत अर्थमन्त्री डा. वाग्लेले आगामी आर्थिक वर्षका लागि ‘विनियोजन विधेयक, २०८३’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३’ प्रश्तुत गर्न अनुमति माग्ने र ती विधेयकहरू सदनमा पेस गर्नुहुनेछ । साथै, ‘नेपाल राष्ट्र बैङ्क (तेस्रो संशोधन) विधेयक, २०८३’ प्रश्तुत गर्न अनुमति माग्ने र सो विधेयक पेश गर्ने कार्यसूची समेत तय भएको छ ।
यसैगरी, बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘पर्यटन विधेयक, २०८२’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रश्ताव प्रश्तुत गर्नुहुनेछ । सन्धि–सम्झौतासम्बन्धी कार्यअन्तर्गत युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले दुईवटा महत्त्वपूर्ण अन्तर्राष्ट्रिय दस्ताबेज पेस गर्नुहुनेछ। जसमा ‘अन्तर्राष्ट्रिय श्रम संगठनको श्रम निरीक्षण सम्बन्धी महासन्धि, १९४७ (नं. ८१)’ र ‘अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धि, १९३० सम्बन्धी सन् २०१४ को प्रोटोकल (नं. २९)’ रहेका छन् । प्रतिनिधि सभाको सोमबार बस्ने बैठकका लागि संसद् सचिवालयले यी विषयहरूलाई सम्भावित कार्यसूचीमा समावेश गरेको छ ।

Leave a Reply