जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशका विभिन्न पहाडी तथा हिमाली भू–भागमा वर्षा र हिमपातको सम्भावना रहेको छ भने तराईका केही क्षेत्रमा अत्यधिक गर्मी बढ्ने देखिएको छ । मौसम पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनअनुसार आज दिउँसो देशका पहाडी तथा हिमाली भू–भागमा साधारणतया बदली रहनेछ भने तराईका क्षेत्रमा आंशिक बदली हुने सम्भावना छ । पहाडी र हिमाली भेगका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा तथा हिमपातको प्रक्षेपण गरिएको छ । साथै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका एक–दुई स्थानमा समेत वर्षाको सम्भावना रहेको छ । यसैगरी, मधेस प्रदेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका तराईका भू–भागमा तापक्रम बढ्ने र ‘तातो दिन’ को स्थिति रहने विभागले जनाएको छ । ती क्षेत्रका बासिन्दालाई बढ्दो गर्मीबाट बच्न आवश्यक सतर्कता अपनाउन सुझाव दिइएको छ । आज रातीको मौसमका सम्बन्धमा विभागले हिमाली भू–भागमा साधारणतया बदली र पहाडी भेगमा आंशिक बदली रहने जानकारी दिएको छ । तराईका भू–भागमा भने मौसम मुख्यतया सफा रहनेछ । कोशी, सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका साथै बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली भेगका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।




