इण्डोनेसियाको राजधानी मध्य जाकर्तास्थित केमायोरानको केबोन कोसोङ क्षेत्रमा सोमवार राति भीषण आगलागी भएको छ । स्थानीय सञ्चार माध्यमहरूका अनुसार घना बस्ती रहेको उक्त क्षेत्रमा लागेको आगोका कारण आकाशमा बाक्लो कालो धुवाँको मुस्लो देखिएको थियो । आगलागी नियन्त्रणका लागि ठूलो संख्यामा अग्निनियन्त्रकहरू परिचालन गरिएको छ । जाकर्ता दमकल तथा उद्धार एजेन्सीकाअनुसार स्थानीय समय अनुसार सोमबार राति करिव ८ः५५ बजे आगलागीको खबर प्राप्त भएको थियो । सूचना प्राप्त हुनासाथ टोलीलाई घटनास्थलमा पठाइएको एजेन्सीले जनाएको छ । अधिकारीहरूकाअनुसार सोमवार अबेर रातिसम्म पनि आगो नियन्त्रणमा लिने प्रयास जारी थियो । अग्निनियन्त्रक टोलीले आगोलाई छिमेकी भवनहरूमा फैलिन नदिन उच्च शतर्कताका साथ कार्य गरिरहेको बताइएको छ । आगलागीको कारण हालसम्म स्पष्ट हुन सकेको छैन र यसबारे अनुसन्धान भइरहेको छ । सोमवार रातिसम्मको विवरणअनुसार उक्त दुर्घटनामा कुनै मानवीय क्षति भएको रिपोर्ट प्राप्त भएको छैन ।




