दुग्ध व्यवसायीलाई मन्त्री चौधरीको चेतावनीः किसानको पैसा समयमै दिनुभएन भने अर्को कदम चाल्न बाध्य हुन्छौँ | ईमाउण्टेन समाचार

Our Network

जेठ १७ २०८३, सोमबार

दुग्ध व्यवसायीलाई मन्त्री चौधरीको चेतावनीः किसानको पैसा समयमै दिनुभएन भने अर्को कदम चाल्न बाध्य हुन्छौँ

कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले दुग्ध व्यवसायमा आवद्ध निजी क्षेत्रका व्यवसायीहरूलाई किसानको भुक्तानी समयमै फस्र्यौट गर्न निर्देशन दिनुभएको छ ।
सोमवार ललितपुरमा आयोजित छैटौँ राष्ट्रिय दुग्ध दिवसका अवसरमा बोल्दै मन्त्री चौधरीले किसानलाई नियमित रूपमा भुक्तानी गरी सरकारको अभियानमा सहयोग पु¥याउन निजी क्षेत्रसँग आग्रह गर्नुभएको हो । मन्त्री चौधरीले सरकारले हाल व्यवसायीहरूलाई सहजीकरण र आवश्यक निर्देशन दिइरहेको उल्लेख गर्दै राज्यलाई कडा कदम चाल्न बाध्य नपार्न सचेत गराउनु भयो । मन्त्री चौधरीले निजी क्षेत्रले जति धेरै सहजीकरण गर्छ, सरकारले पनि व्यवसायीका समस्या समाधानमा उति नै सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । व्यवसायीका विद्यमान समस्याहरू समाधानका लागि सरकारले विभिन्न प्रयासहरू गरिरहेको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘अर्को कुरा भुक्तानी कार्यलाई सहजीकरण गर्ने उद्देश्यका लागि दुग्ध व्यवसायमा संलग्न निजी क्षेत्रका व्यवसायीहरूले पनि किसानलाई नियमित रूपमा समयमै भुक्तानी गरी सरकारलाई सहयोग पु¥याउनुहुनेछ भन्ने मैले अपेक्षा गरेको छु । सबैभन्दा पहिले त, सचिवज्युले पनि भन्नुभयो, हामीले तपाईंहरूलाई अनुरोध नै गरेका छौँ । राज्यले सहजीकरणका लागि अनुरोध गर्ने र निर्देशन दिने काम गर्छ । त्यसपछि पनि यदि तपाईंहरूले त्यसलाई पालना गर्नुभएन भने हामी अर्को चरणमा जानुपर्ने अवस्था नआओस् भन्ने हाम्रो चाहना हो । यसलाई धम्कीका रूपमा नलिनुहोला । हाम्रो अनुरोधलाई स्वीकार गरिदिनुहोला । जसरी सरकारसँग जनताको अपेक्षा छ, त्यसरी नै यो सरकारले पनि तपाईँहरूसँग सहजीकरणको अपेक्षा गरेको छ । तपाईँहरूले जति सहजीकरण गर्नुहुन्छ, हामी पनि त्यति नै सहजीकरण गर्न तयार छौँ । तपाईंहरूका समस्या समाधान गर्नकै लागि हामीले धेरै कार्यहरू गरिरहेका छौँ । त्यसैगरी, विशेष गरी कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत दुग्ध क्षेत्रको दिगो विकासका लागि विभिन्न नीतिगत तथा कार्यक्रमगत पहलहरू अगाडि बढाइरहेका छौँ ।’
मन्त्रालयले दुग्ध क्षेत्रको दिगो विकासका लागि विभिन्न नीतिगत पहल र कार्यक्रमहरू अगाडि बढाइरहेको जानकारी दिँदै मन्त्री चौधरीले यस क्षेत्रको सुधारका लागि सरकार दृढ रहेको स्पष्ट पार्नुभयो ।

Leave a Reply

ताजा समाचार