नेपाल कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले प्रधानमन्त्री बालेन्द्र साहले संसदमा दिएको सीमा सम्बन्धी अभिव्यक्ति राष्ट्रहितविपरीत, तथ्यहीन र आत्मसमर्पणवादी भएको आरोप लगाउनुभएको छ ।
प्रतिनिधि सभाको सोमवार बसेको बैठकमा उहाँले यस्तो बताउनुभएको हो । प्रधानमन्त्री संसदप्रति जवाफदेही हुनुपर्ने मागअनुसार संसदमा उपस्थित भएर प्रश्नको उत्तर दिएको स्वागतयोग्य भएपनि सीमा विवादबारे व्यक्त धारणा गम्भीर रूपमा आपत्तिजनक रहेको उहाँको भनाई छ । प्रधानमन्त्रीको अभिव्यक्तिमा नेपालको अतिक्रमित भूमि फिर्ता गर्न आवश्यक राष्ट्रिय अडान, कुटनीतिक परिपक्वता र दृढ इच्छाशक्ति नदेखिएको उहाँले दाबी गर्नुभयो । दुलालले सीमावर्ती क्षेत्रमा नेपाली नागरिकले खेतीपाती गरेको विषयलाई भारतीय सेनाले नेपाली भूमिमा परेड खेलेर भूमि कब्जा गरेको अवस्थासँग तुलना गर्नु गम्भीर राष्ट्रिय आत्मसमर्पणवादी सोच भएको टिप्पणी गर्नुभयो । उहाँले लिपुलेक, लिम्पियाधुरा र कालापानीसहित करिव ६० हजार हेक्टर नेपाली भूमि भारतद्वारा अतिक्रमण गरिएको नेपालको आधिकारिक दाबी रहेको स्मरण गराउँदै उक्त विषयलाई दशगजामा हुने सीमापार खेतीपातीसँग तुलना गर्न नमिल्ने जिकिर गर्नुभयो । दुलालले प्रधानमन्त्रीको अभिव्यक्तिको बचाउ गर्दै परराष्ट्र मन्त्रालयले दिएको स्पष्टीकरणलाई समेत तथ्य तोडमोड गर्ने प्रयास भएको बताउनु भयो । सत्तारुढ दलका सभापतिको भारत भ्रमणको पूर्वसन्ध्यामा प्रधानमन्त्रीको उक्त अभिव्यक्ति आएको उल्लेख गर्दै उहँले यसले गम्भीर शंका उत्पन्न गरेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘प्रधानमन्त्री संसदप्रति जवाफदेही हुनुपर्छ र संसदमा सांसदले सोधेको प्रश्नको उत्तर दिनुपर्छ भन्ने मागलाई सम्बोधन गर्दै समामुखलाई समेत सरप्राईज दिएर प्रधानमन्त्री संसदमा आउनु भयो । आकस्मिक प्रश्नोत्तरको परिस्थितिजन्य व्यवस्थापन समामुख महोदयबाट भयो, त्यसलाई आकस्मिक प्रश्नोत्तरको रुपमा हामीले स्वीकार ग¥यौँ र भाग लियौँ । नियमावलीमा व्यवस्था छ कि प्रश्नोत्तरको समय निर्धारण गरिन्छ, प्रश्नकर्ता र प्रधानमन्त्री बीच व्यवस्थित प्रश्नोत्तर सञ्चालन गरिन्छ, प्रधानमन्त्रीको जवाफ जिम्मेवार हुन्छ । यसबाट हामी नयाँ भन्ने मित्रहरुलाई गम्भिर शिक्षा प्राप्त भएकै हुनुपर्छ कि राष्ट्रको प्रमुख पद जोशको मात्रै पद होइन, यो त होस्, अनुभव, ज्ञान र जिम्मेवारीबोधको पद हो । बहुमतले दिएको मूर्ख बल, अनुभवको अभाव र कुटनीतिक भाषाको महत्वको अनविज्ञता र स्टन्टशैलीको पराकाष्टले हिजो राज्यले ठूलो क्षति व्यहोर्नुप¥यो । प्रधानमन्त्रीको जवाफी अभिव्यक्तिमा एकातिर देशको मिचिएको भुमी फिर्ता गर्न चाहिने दृढ राष्ट्रिय ईच्छाशक्ति, निडरता र कुटनीतिक परिपक्वता देखिएन भने अर्कोतिर सिमाक्षेत्रका नागरिकले खेतीपाती गरेको विषयसंग देशको भूमीमा भारतीय सैनिक परेड खेलेर देशको भुमी कब्जा गरेको विषयको तुलना गर्नु गम्भीर राष्ट्रिय आत्मसर्मपणवादी चिन्तन देखिन्छ । अझ प्रधानमन्त्रीले ईङ्ल्याण्ड सरकारसंग (युके) तत्कालिन व्रिटिस सरकारको समेत प्रसंग निकाल्नु आत्मसर्मपनबादको अर्को पराकाष्ठाको रुपमा देखिन्छ । अझै आश्चर्यको कुरा त सरकारवादी दलका सभापतिको भारत भ्रमणको पुर्वसन्ध्यामा प्रधानमन्त्री दौडिएर आएर यो अभिव्यक्ति दिनुभारत भ्रमणको अवसरमा भारतलाई दिएको उपहार त होइन ? गम्भिर संसय पैदा भएको छ । सभामुख महोदय, हामी शुभकामना दिन चाहन्छौँ, सत्तारुढ दलका सभापतिलाई भारत भ्रमणमा प्रधानमन्त्रीको गलत अभिव्यक्तिमागी विन ओभर गर्दै आफ्नो भुमीसम्बन्धि अडान कायम राख्न सफता मिलोस् । प्रधानमन्त्रीले संसदमा नेपालले पनि धेरै ठाउँमा भारतको भुमी मिचेको छ भनेर दिएको अभिव्यक्ति सिमासम्बन्धी अज्ञानता त हो नै राष्ट्रहित विपरतको समेत अभिव्यक्ति हो । सार्वभौम राष्ट्रका प्रधानमन्त्रीले यसरी तथ्यहिन बोल्नु गम्भिर गल्ति हो । परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीको बचाउमा दशगजाको विषयलाई लिएर क्रस बोर्डर अकुपेन्सीको कुरा हो भनेर झुटलाई तोडमोड गर्नु अर्को गल्ती हो । लिपुलेक, लिम्पियाधुरा, कालापानी लगायत नेपालको करिब ६० हजार हेक्टर भुमी भारतले अतिक्रमण गरेको हाम्रो राष्ट्रिय दाबी हो । भारतीय सेनाबाट भएको यो अक्रिमणको तुलना दशगजामा वरिपरि खेती गरिएको कुरासँग तुलना हुने विषय हुँदै होइन । भारतले न नेपालले हाम्रो सिमा मिच्यो भनेको छ, न हाम्रो सेनाले कुनै भारतीय भूमी कब्जा गरेर नै बसेको छ । न कुनै त्यस्तो तथ्याङ्क नै छ । नेपालले भारतको भुमी मिचेको छैन । पुर्खाहरुले शीरको बलि चढाएर बचाएको हाम्रो देशको एकएक ईन्च अतिक्रमित भुमी फिर्तासम्बन्धी प्रधानमन्त्रीको जवाफ राष्ट्रघाती र आत्मसर्मपणवादी छ ।’
उहाँले प्रधानमन्त्रीले दिएको गलत अभिव्यक्ति फिर्ता नगरेसम्म सदन चलाउन नदिने पनि बताउनु भयो ।




