काठमाडौँ ।
सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रममा नियमावली उल्लंघन नभएको स्पष्ट पार्नुभएको छ । आईतवार बसेको प्रतिनिधि सभा बैठकमा विपक्षी दलका सांसदहरूले नियमावली मिचिएको भन्दै आपत्ति जनाएपछि उहाँले यस्तो स्पष्टीकरण दिनुभएको हो । बैठकको शुरुमा विशेष समय लिँदै सांसद युवराज दुलालले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ५६ (१) बमोजिम प्रधानमन्त्रीलाई प्रश्न सोध्नुभन्दा तीन दिन अगाडि नै लिखित जानकारी दिनुपर्ने र प्रश्नोत्तरका लागि एक घण्टा समय छुट्याइनुपर्ने प्रावधान मिचिएको भन्दै नियमापत्ति जनाउनुभएको थियो । उहाँले संविधान र नियमावली मिचिनु राष्ट्रका लागि दुःखद भएको टिप्पणी गर्नुभयो ।
त्यसैगरी, सांसद ऐन महरले पनि नियमावलीको नियम ५६ को उपनियम ३ र ४ को हवाला दिँदै प्रधानमन्त्रीसँगको प्रश्नोत्तरका लागि तोकिएको प्रक्रिया पालना नगरिएको भन्दै नियमापत्ति दर्ता गराउनुभएको थियो । उहाँले संविधान र नियमावलीभन्दा माथि कोही पनि नभएको उल्लेख गर्दै लिखित प्रश्नहरू लिने र सोहीअनुसार जवाफ दिने परम्परा कायम राख्न सभामुखको ध्यानाकर्षण गराउनु भयो । जवाफमा सभामुख अर्यालले सांसदहरूलाई नियमावलीको नियम ५६ पुनः अध्ययन गर्न आग्रह गर्नुभयो । विपक्षी बेन्चका सदस्यहरूले निरन्तर उठाएको मागबमोजिम नै प्रधानमन्त्री सदनमा उपस्थित भई उत्तर दिन तयार रहनुभएको उहाँको भनाइ थियो । सभामुखले सांसदहरूलाई आ–आफ्नो स्थानमा बस्न आग्रह गर्दै बैठकको प्रक्रिया अगाडि बढाउनुभएको थियो । विपक्षी दलका सांसदहरूको प्रश्नको जवाफ दिन प्रधानमन्त्री तयार रहेको भन्दै उहाँले सदनको कारबाहीलाई निरन्तरता दिनुभएको थियो ।





