काठमाडौँ ।
नेकपा (एमाले) की सांसद साजिदा खातुन सिद्धिकीले देशभरका सरकारी अस्पतालहरूमा डायलासिस मेसिनको पर्याप्त व्यवस्था गरी सेवा विस्तार गर्न सरकारसँग माग गर्नुभएको छ । प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै सांसद सिद्धिकीले राप्ती प्रादेशिक अस्पतालमा डायलासिस मेसिनको अभावका कारण बिरामीहरूले ठूलो सास्ती भोग्नुपरेको प्रति सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।
मेसिनको अभावले गर्दा बिरामीहरू उपचारका लागि काठमाडौँ आउनुपर्ने बाध्यता रहेको र यसले गर्दा उनीहरूमाथि ठूलो आर्थिक भार थपिएको उहाँले बताउनु भयो । उहाँले बिरामी र उनीहरूका परिवारको यो समस्यालाई मध्यनजर गर्दै देशभरका कुन–कुन अस्पतालमा मेसिनको आवश्यकता छ भन्नेबारे अध्ययन गर्न सरकारलाई सुझाव दिनुभयो । उहाँले सभामुखमार्फत नेपाल सरकारलाई अनुरोध गर्दै उहाँले आगामी दिनमा देशका सबै अस्पतालहरूमा आवश्यकताअनुसार डायलासिस मेसिन उपलब्ध गराउन माग गर्नुभएको छ ।





