रास्वपा सभापति रवि लामिछानेको भारत भ्रमण भारतीय कुटनीतिको सिकार हुनुहुँदैन | ईमाउण्टेन समाचार

Our Network

असोज १४ २०८३, बिहीबार

रास्वपा सभापति रवि लामिछानेको भारत भ्रमण भारतीय कुटनीतिको सिकार हुनुहुँदैन

काठमाडौँ ।

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गर्ने भनिएको आसन्न भारत भ्रमण यतिखेर सबैको चासोको विषय बनेको छ । भारत सरकारको मैत्रीपूर्ण आमन्त्रणलाई सरकारले त्यति महत्व नदिएको परीपेक्षणमा हुन लागेको यो भ्रमण वास्तवमा एउटा अलग महत्व र आकांक्षापूर्ण रहेको देखिन्छ । सरकारको तर्फबाट उपेक्षित भारत भ्रमणलाई सत्तारुढ दलको नेताको हैसियतमा हुन लाग्नुले पनि कुटनीतिक वृत्तमा अर्थपूर्ण मानिएको छ ।

नेपालमा नयाँ सरकार बनेपछि भारत भ्रमण हुनैपर्ने भन्ने जस्तो विगतको नजिरलाई वर्तमान सरकारले क्रम भंग गरेको छ । भारत भ्रमण हुनु नै मूख्य उपलब्धि ठान्नुपर्ने दास कुटनीतिबाट ग्रस्त पूर्ववर्ती सरकारहरुलाई वर्तमान सरकारले एउटा अलग सन्देश समेत दिएको छ र भारत नै अपरिहार्य हो भन्ने मानसिकताप्रति यो सरकारले चुनौतिपूर्ण सन्देश समेत दिएको छ । नेपाल भारतवेस्टित भौगोलिक परिवेशलाई लिएर आकलन गरिएका कुटनीतिबाट वर्तमान सरकार परिचालित नहुने सन्देश गएसँगै भारतीय वृत्तमा देखिएको अर्थपूर्ण हलचल वास्तवमै देख्न लायकको र नेपालीले परिकल्पना गरे भन्दा बाहिरको अलग पृष्ठभुमिको रुपमा देखिएको छ ।

नेपालले सधैभरि भारतबाट आफूलाई उपेक्षित महसुस गर्दै आएको छ । भनिन्छ,नेपालको गरिबीको पछाडि भारतको ठूलो हात छ ।सत्तामा जो छ त्यसलाई विभिन्न हतघण्डा प्रयोग गर्दै आफ्नो बसमा पार्ने र विशादीयुक्त फलफुल र तरकारी समेत विना परीक्षण नेपालीले स्वीकार गर्नुपर्ने विडम्बनायुक्त छिमेकी नीति वास्तवमा घातक थियो र छ । फुटाउ र राजनीति गर भन्ने मूख्य कुटनीतिबाट ग्रसित भारतीय नीतिले नेपालको विगतलाई दःखदायी बनाएको छ । प्राय सबैजसो सरकारहरु भारतीयहरुको राजनीतिक सिकार बन्ने गरेका छन् र सरकार बनाउने भत्काउने देखि,पार्टी बनाउने भत्काउने सम्ममा भारतीयहरुको अहम भूमिका रहेको विगत वास्तवमा नेपालीको लागि खेतजनक नै रहेको छ ।एउटा भारतीय सामान्य कर्मचारी आउँदा समेत क्रमबद्ध हुँदै दर्शन भेटमा लिप्त हुने सरकारका मन्त्री तथा पूर्व प्रधानमन्त्रीहरुलाई देख्दा राजनीतिमा आउने माध्यम नै भारत हो भन्ने तथ्यलाई राम्रैसँग बुझेको देखिन्छ । एउटा संवेदनशील विषय के छ भने भारतको नजदिक रहने कुनै पनि नेतालाई नेपाली जनताले मनपराएका भने छैनन् । भारत भ्रमणमा जाने प्रायः सबै नेताहरु कुनै न कुनै रुपमा नेपाली जनताको अगाडि कलंकीत बनेको विगतलाई हेर्दा वर्तमान पनि त्यस्तै अवस्थाको साक्षी बन्ने हो कि? भन्ने नेपाली जनताको आशंका तीव्र रुपमा देखिने गर्दछ ।

अहिलेको सत्तारुढ दलको सभापतिको भारत भ्रमणलाई लिएर भारतमा अनेर्कौ प्रकारका प्रचारबाजीमात्र भइरहेको छैन,बरु त्यसकै शक्तिशाली नेताको भारत भ्रमण भनेर भारतीय मिडियाहरुले चित्रण गरिरहेका छन् । सरकारको विकल्पको रुपमा प्रचार भइरहेको यो भ्रमणलाई कुटनीतिक क्षेत्रले अर्थपूर्ण मानिरहेको छ । निरर्थक प्रशंसा र वाहवाहमा भूलाएर नेपालको प्रधानमन्त्री समेतलाई गेरुवावस्त्र र भैँसी उपहार दिएर फर्काएको विगतको लज्जित नजिरहरुले वर्तमानका नेताहरुलाई पनि त्यस्तै पासोमा जकड्याउने भारतीय सपना त होइन? प्रश्न सबैको मनमा उठेको छ ।नेपाल सार्वभौम देश हो, देशका प्रधानमन्त्री सार्वभौम देशको शक्तिशाली नेता हुन् । राज्यको तर्फबाट हुनुपर्ने भ्रमणलाई अन्यत्र मोडिनु फेरि पनि भारत सरकारको फुटाउ राजनीति त होइन? यो पनि गम्भीर सवाल बन्न पुगेको छ ।

भारतप्रति आश्रित नेपाल हो भन्ने पहिलाको दृष्टिकोणलाई वर्तमान सरकारले थारै समयमा नै उल्टाइदिएको छ । नेपालको सीमा प्रतिको सरकारी बफादारीले भारतीय सीमावर्ती क्षेत्र आज आक्रान्त बनेको छ । नेपालभन्दा बढी भारतीयहरु दःखी बनेका छन् । नेपालको सरकारको सोचलाई भारतीय मिडियाले समेत उत्कट प्रशंसा गरेका छन् । यो प्रशंसा त्यँहाको प्रधानमन्त्रीको लागि समेत नैतिक सवाल बन्न पुगेको छ । के नेपालमात्र भारत आश्रित रहेछ त? भारतले भन्ने गरेजस्तो नेपाललाई मात्र भारतको आवश्यकता रहेछ त? त्यस्तो होइन । वास्तविकता उल्टो देखिएको छ ।

सत्तारुढ दलको सभापतिको आसन्न भारत भ्रमण सफल हुनुपर्छ । सरकारलाई कमजोर बनाउने तर्फ भन्दा नीतिगत रुपमा नै सरकारको समर्थकको रुपमा हुनुपर्छ । राष्ट्रियहित र सत्ताहित समष्टिमा झल्किनुपर्छ । फुटाउमा आधारित भारतीय कुटनीति असफल बनाउने तर्फको हुनुपर्छ । अब नेपालको योजना नेपालमै बन्नुपर्छ । पार्टी र सरकारको भविष्यको चिन्ता लैनचौरले होइन,सिंह दरबारले लिनुपर्छ । दुर दृष्टि र राष्ट्रिय महत्वकांक्षाले वर्तमान नेपाललाई नेतृत्व गरेको नेपाली जनता हेर्न चाहान्छन् । नेताहरुको लडाइबाट वाक्क दिक्क जनताहरु स्वस्थ र स्थायी नेतृत्वको परिकल्पनाबाट स्वचालित रुपमा परिचालित भएको हेर्न चाहान्छन् । सबैले बुझ्न जरुरत छ ।

Leave a Reply

ताजा समाचार