काठमाडौँ ।
प्रतिनिधि सभाको बिहीवार बस्ने बैठकमा विभिन्न महत्वपूर्ण विधेयकहरूमाथि छलफल र पारित गर्ने कार्यसूची तय भएको छ । संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार बैठकमा निर्वाचन, विधि विज्ञान र विकास वित्तसँग सम्बन्धित विधेयकहरू प्रश्तुत गरिनेछन् । बैठकमा प्रधानमन्त्री, गृह मन्त्री एवं विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बालेन्द्र साहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले तीनवटा विधेयकहरू प्रश्तुत गर्नुहुने कार्यक्रम रहेको छ ।
मन्त्री गौतमले ‘प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३’, ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३’ र ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्नुहुनेछ । त्यसैगरी, आर्थिक क्षेत्रसँग सम्बन्धित ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ माथि पनि सदनमा छलफल हुनेछ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त विधेयकमाथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्नुहुने कार्यसूचीमा उल्लेख छ । विधेयकमाथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रश्तुत गरिसकेपछि अर्थ मन्त्री डा. वाग्लेले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ लाई पारित गरियोस् भन्ने प्रश्ताव बैठकमा पेश गर्नुहुने संसद सचिवालयले जनाएको छ ।




