नेपाल कम्युनिष्ट पार्टीकी सांसद उर्मिला अर्यालले अर्थमन्त्री डा. स्वणिम वाग्लले संसदमा प्रश्तुत गर्नुभएको आगामी आर्थिक वर्ष २०८३÷०८४ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता लक्ष्यविहीन रहेको बताउनुभएको छ ।
मंगलवार बसेको राष्ट्रिय सभामा विनियोजन विधेययकका सिद्धान्त र प्राथमिकतामाथी छलफल गर्दै उहाँले विधेयक दिशाहीन, लक्ष्यबिहीन र असन्तुलित रहेको बताउनुभएको हो । उपभोगमा आधारित अर्थतन्त्रलाई लगानी तथा उत्पादनमुखी बनाउने जस्ता महत्वपूर्ण विषय समेटिएपनि समग्र दस्तावेजमा स्पष्ट तालमेल र ठोस दिशानिर्देशको अभाव रहेको उहाँले टिप्पणी गर्नुभयो । उहाँले वर्तमान आर्थिक अवस्थालाई हेर्दा प्रश्तुत सिद्धान्त र प्राथमिकता कार्यान्वयनयोग्य नदेखिएको उल्लेख गर्दै पुँजी निर्माण तथा उत्पादन वृद्धि गर्ने स्पष्ट योजना सरकारले ल्याउन नसकेको आरोप लगाउनु भयो । उहाँले दीगो विकास लक्ष्य र संविधानले परिकल्पना गरेको समाजवादउन्मुख अर्थतन्त्रसँग विनियोजन विधेयकको तादात्म्य स्पष्ट नभएको पनि बताउनु भयो । उहाँले दलित, राउटे, अल्पसंख्यक तथा अन्य सिमान्तकृत समुदायका मुद्दा विधेयकमा पर्याप्त रूपमा सम्बोधन नगरिएको गुनासो गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘उपभोगका आधारित अर्थतन्त्रलाई लगानी र उत्पादनमुखी अर्थतन्त्र रुपान्तरण गर्ने लगायत धेरै महत्वपुर्ण विषयमा कुराहरु आएका छन् । समग्रतामा भन्ने हो भने धेरै कुराहरुमा खास तालमेल देखिँदैन । दिशानिर्देश प्रष्ट छैन । भिजनमा पनि धेरै ल्याप्सेसहरु छन् । नेपालको वर्तमान स्थिति हेर्दा विनियोजन विधेययकका सिद्धान्त र प्राथमिकता सफल हुने देखिँदैन । पुँजी बढाउने योजना खासै देखिएको छैन । यो दीगो विकास लक्ष्यको अनुसार कहाँ तादम्य राख्छ ? प्रष्ट पारिएको छैन । यो सिद्धान्त र प्राथमिकता संविधानले निर्दिष्ट गरेको लक्ष्य समाजबाद उन्मुख कहाँ तादम्य राख्छ, प्रष्ट पार्नुपर्ने देखिन्छ ।’
नेपालको अर्थतन्त्र कृषि र रेमिट्यान्समा आधारित रहेपनि ती क्षेत्रको प्रवद्र्धनमा सरकार मौन देखिएको उहाँको भनाई छ । उहाँले कृषिमा लगानी वृद्धि तथा उत्पादन बढाउन ठोस योजना ल्याउन आवश्यक रहेको बताउनु भयो ।




