राजधानी सार्न हतारको माग : मुख्यमन्त्री पौडेल | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

राजधानी सार्न हतारको माग : मुख्यमन्त्री पौडेल

dormani paudel

बनेपा, ६ फागुन । प्रदेश ३ को राजधानी हेटौंडाबाट काभ्रेमा सार्नुपर्ने माग हतारको भएको मुख्य मन्त्री डोरमणि पौडेलले बताएका छन् ।‘अहिले यति छिटो हतार गरेर यो विषय उठाइ हाल्ने बेला भएको छैन । किनकी हालको अस्थायी राजधानीमा हामीले एउटा बैठक सुरु गरेका छैनौं र कामको सुरुवातै भएको छैन,’ धुलिखेल नगरपालिकाको ३२ औं स्थापना दिवसको शनिबार उद्घाटन गर्दै उनले भने ।

शुक्रबार मात्रै भक्तपुरको एउटा कार्यक्रममा प्रतिनिधिसभामा काभ्रे क्षेत्र नं २ बाट सांसद गोकुल बाँस्कोटाले काम चलाउ सरकारले जनताको भावना चाहना र भूगोलको अवस्थालाई मूल्यांकन नगरिकनै हेटौंडालाई हचुवाका भरमा अस्थायी राजधानी तोकेकाले यसलाई काभ्रे सार्नुपर्ने बताएका थिए । ‘प्रदेश नम्बर ३ को भूगोललाई समेत नियाल्दा हेटौंडा राजधानीका लागि उपयुक्त छैन । सबैको पायकका लागि प्रदेश ३ को राजधानी काभ्रे नै उपयुक्त हुन्छ,’ उनले दाबी गरेका थिए ।

यस्तै, शनिबार पनि धुलिखेल नगरपालिकाको कार्यक्रममा सांसद बाँस्कोटाले प्रदेश सांसदहरूको बहुमतले प्रदेशका नागरिकलाई पायक पर्ने काभ्रेमै राजधानी सार्नुपर्नेमा पुनः जोड दिएका छन् ।काभ्रे क्षेत्र नं १ का सांसद गंगाबहादुर तामाङ तथा जिल्ला समन्वय समितिका अध्यक्ष उद्धव केसीले राजधानी काभ्रेमै सानुपर्ने भनी थप कुरा राखेपछि पौडेलले जवाफमा भने, ‘यसको एउटा विधि र प्रक्रिया छ । त्यसबखत राजधानी कहाँ जान सक्छ, म अहिले भन्न सक्दिन । त्यसैले अहिले हतार नगरौं । भविष्यमा यसबारेमा निर्णय लिन सकिने भए पनि यो मात्रै जिल्लाको वकालत गर्न सक्ने अवस्थामा छैन,’ उनले थपे ।

कार्यक्रममा मुख्यमन्त्री पौडेलले धुलिखेलको विकासका परिकल्पनाकार एवं संस्थापक नगरप्रमुख बेलप्रसाद श्रेष्ठलाई धुलिखेल रत्न पदकबाट विभूषित गरेका छन् । सोही अवसरमा वरिष्ठ हास्य कलाकार हरिवंश आचार्यलाई धुलिखेल नक्षत्र ‘क’ पदकले विभूषित गरिएको छ । यस्तै, धुलिखेल नगरमा विभिन्न क्षेत्रबाट सहयोग पुर्याउने व्यक्ति, विद्यालय, सहकारी, संघसंस्था, उपभोक्ता समिति, होटल, कलाकार, कृषकलगायत ३२ जनालाई धुलिखेल रत्न ‘ख’, समाजसेवा पदक ‘क’ र ‘ख’ बाट विभूषित गरिएको छ । साथै नगरपालिकाका कर्मचारीलाई समेत समाजसेवा पदक ‘क’ र ‘ख’ प्रदान गरिएको छ ।

यसै अवसरमा प्रत्येक हप्ताको शनिबार सफा धुलिखेल क्लिन धुलिखेल अवधारणा अनुरूप ५२ हप्ते सरसफाइ अभियानको थालनी भएको मेयर अशोक ब्याञ्जूले घोषणा गरेका छन् । वि सं२०४३ फागुन ५ गते धुलिखेल नगरपञ्चायतको गठन भएको सम्झनामा यसपटकदेखि प्रत्येक वर्ष फागुन ५ गतेलाई नगरसभाले स्थापना दिवस मनाउने निर्णय गरेको हो । आजको नागरिक दैनिकमा खवर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);