इराकका नवनियुक्त प्रधानमन्त्री अली अल–जैदीले औपचारिक रूपमा आफ्नो कार्यभार सम्हाल्दै देशमा व्यापक आर्थिक सुधार र भ्रष्टाचार नियन्त्रण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । प्रधानमन्त्रीको सचिवालयद्वारा जारी विज्ञप्तिअनुसार पदभार ग्रहणपछि देशवासीका नाममा सम्बोधन गर्दै अल–जैदीले आगामी कार्यकाल राष्ट्रिय साझेदारीमार्फत देशका विद्यमान चुनौतीहरूको सामना गर्न केन्द्रित रहने बताउनु भयो । उहाँले इराकी अर्थतन्त्र अब उप्रान्त एउटै स्रोतमा मात्र निर्भर नरहने समेत स्पष्ट पार्नुभयो । प्रधानमन्त्रीकाअनुसार सरकारको सुधार योजनाले उद्योग, कृषि, पर्यटन र लगानीका क्षेत्रलाई पुनरुत्थान गर्ने लक्ष्य राखेको छ । साथै उहाँले सार्वजनिक कोषको संरक्षण गर्ने र सबै प्रकारका प्रशासनिक एवं वित्तीय भ्रष्टाचारविरुद्ध कडा रूपमा प्रश्तुत हुने दृढता व्यक्त गर्नुभयो । परराष्ट्र नीतिका सम्बन्धमा बोल्दै अल–जैदीले इराकको सुरक्षा र स्थिरतालाई सुदृढ बनाउने, राष्ट्रिय सार्वभौमसत्ताको रक्षा गर्ने र आपसी सम्मान एवं साझा हितका आधारमा अरब क्षेत्र लगायत अन्तर्राष्ट्रिय सम्बन्धलाई थप बलियो बनाउने बताउनु भयो ।
लामो समयको राजनीतिक खिचातानी र वार्तापछि गत बिहीवार इराकी संसद्ले अल–जैदीको मन्त्रिमण्डलका २३ मध्ये १४ मन्त्रीहरूको नाम अनुमोदन गरेसँगै नयाँ सरकार गठनको बाटो खुलेको थियो ।




