काठमाडौँ ।
सन् २०२६ को पहिलो त्रैमासमा मलेसियाको बेरोजगारी दर घटेर २.९ प्रतिशतमा झरेको छ । मलेसियाको तथ्यांक विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार रोजगारी र श्रम शक्तिमा भएको क्रमिक सुधारका कारण बेरोजगारी दरमा कमी आएको हो । तथ्यांक विभागद्वारा जारी विज्ञप्तिअनुसार अघिल्लो त्रैमासमा ३ प्रतिशत रहेको बेरोजगारी दर यस अवधिमा ०.१ प्रतिशत बिन्दुले घटेको छ । बेरोजगार व्यक्तिको संख्यामा ०.४ प्रतिशतले गिरावट आएसँगै हाल बेरोजगारको संख्या ५ लाख ६ हजार ५ सय कायम भएको छ । यस अवधिमा मलेसियाको कुल श्रम शक्ति ०.३ प्रतिशतले वृद्धि भई १ करोड ७२ लाख ३० हजार पुगेको छ ।
त्यसैगरी, रोजगारी प्राप्त व्यक्तिको संख्या पनि ०.३ प्रतिशतले बढेर १ करोड ६७ लाख ३० हजार पुगेको छ। श्रम शक्ति सहभागिता दर भने अघिल्लो त्रैमासकै बराबर ७०.९ प्रतिशतमा स्थिर रहेको छ । मलेसियाको मजबुत आन्तरिक आर्थिक आधार र जारी संरचनात्मक आर्थिक रूपान्तरणका कारण आगामी महिनाहरूमा पनि श्रम बजार स्थिर रहने विभागको प्रक्षेपण छ । यद्यपि, विश्वव्यापी ऊर्जा बजारमा देखिने अस्थिरता र भू–राजनीतिक घटनाक्रम जस्ता वाह्य कारकहरूले आर्थिक वृद्धिको गतिलाई प्रभावित पार्न सक्ने भन्दै विभागले सचेत गराएको छ । बदलिँदो र अनिश्चित आर्थिक परिवेशलाई सफलतापूर्वक सामना गर्न व्यवसाय र जनशक्ति दुवै सचेत र चनाखो रहनुपर्ने विभागको ठहर छ ।




