५–जी कार्यान्वयन र सञ्चार क्षेत्रको संरचनात्मक सुधार सरकारको प्राथमिकताः सञ्चारमन्त्री डा. तिमिल्सिना | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८३, बुधवार

५–जी कार्यान्वयन र सञ्चार क्षेत्रको संरचनात्मक सुधार सरकारको प्राथमिकताः सञ्चारमन्त्री डा. तिमिल्सिना

काठमाडौँ 

सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले सरकारले प्रविधिको विकास र सञ्चार क्षेत्रको सुदृढीकरणलाई उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ ।मन्त्रालयमा आयोजित पत्रकारहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री तिमिल्सिनाले ५–जी सेवाको कार्यान्वयन, सञ्चार क्षेत्रको सुधार र सुशासन प्रवद्र्धनमा सरकार प्रतिवद्ध रहेको स्पष्ट पार्नुभएको हो । मन्त्री तिमिल्सिनाले सरकार ५–जी प्रविधि भित्र्याउन दृढ रहेको बताउनु भयो । ५–जीका लागि रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समितिले ३ हजार ३ सयदेखि ३ हजार ७ सय मेगाहर्ज ब्याण्ड निर्धारण गरिसकेको र यसको आधार मूल्य प्रतिमेगाहर्ज ४० लाख रुपैयाँ तय भएको जानकारी उहाँले दिनुभयो । यस्तै, बजारमा प्रतिष्पर्धा बढाउन तेस्रो मोबाइल अपरेटर ल्याउने विषयमा नेपाल दूरसञ्चार प्राधिकरणले अध्ययन गरिरहेको समेत उहाँले उल्लेख गर्नुभयो ।

मन्त्री तिमिल्सिनाले लोकतन्त्रको मजबुतीका लागि जिम्मेवार पत्रकारिता अपरिहार्य रहेको बताउनु भयो । लोककल्याणकारी विज्ञापनमा हुने गरेका अनियमितताको छानबिन हुने पनि बताउनु भयो । उहाँले पत्रकारहरूको न्युनतम पारिश्रमिकको विषयलाई पनि प्राथमिकतामा राख्ने प्रतिवद्धता जनाउनु भयो । मन्त्रालय मातहतका निकायमा हुने ‘सिस्टेमिक करप्सन’ र अनियमितताप्रति सरकार गम्भीर रहेको मन्त्री तिमिल्सिनाको भनाइ छ । स्मार्ट टेलिकम लगायतका पुराना विवादित विषयहरूमा छानबिन प्रक्रिया अगाडि बढिसकेको जानकारी दिनुभयो । मन्त्रालय अन्तर्गतका विभिन्न निकायहरूमा रिक्त रहेका नेतृत्वदायी पदहरूमा शिघ्र नियुक्तिको प्रक्रिया थालिएको मन्त्रीले जानकारी दिनुभयो । नियुक्ति नभएसम्म काम नरोकिने गरी निमित्तको व्यवस्था गरिएको र खुला प्रतिष्पर्धाबाट योग्य व्यक्ति छनोट गरिने उहाँले स्पष्ट पार्नुभयो । साथै, नेपाल टेलिकमको बिलिङ प्रणालीमा देखिएका समस्या समाधान गर्न र ग्रामीण दूरसञ्चार विकास कोषको रकम जनताको हितमा प्रयोग गर्न सरकार लागिपरेको उहाँले बताउनु भयो । मन्त्री तिमिल्सिनाले सञ्चारकर्मीहरूलाई मन्त्रालयसँग सम्बन्धित कुनै पनि अनियमितता वा समस्याका बारेमा प्रत्यक्ष जानकारी गराउन आग्रह गर्नुभयो । उहाँले पत्रकारहरूसँगको नियमित संवादलाई निरन्तरता दिने र सुझावहरूलाई नीति निर्माणमा समेट्ने समेत विश्वास दिलाउनु भयो ।

Leave a Reply