काठमाडौँ ।
निर्माण व्यवसायी रमेश शर्मा सोमवार बिहान १० बजे काठमाडौँको सीतापाइलास्थित आफ्नै कार्यालयमा हुनुहुन्थ्यो । निर्माण कम्पनी–शर्मा एण्ड कम्पनीका सञ्चालक रहेका उहाँलाई त्यही बेला उपत्यका अपराध अनुसन्धान कार्यालयबाट प्रहरी निरीक्षकको नेतृत्वमा तीन जना प्रहरीको टोली लिन आयो र भन्यो, ‘तपाईंलाई लिएर आउनू भन्ने मन्त्रीको आदेश छ । शहरी विकास मन्त्रालयमा जानुप¥यो ।’शर्माले प्रहरीको आग्रह मान्दै सिंहदरबार जानुभयो । कार्यालयमै प्रहरी पुगेर शर्मा पक्राउ परेको खबर एकएक फैलियो । जसकारण निर्माण व्यवसायी वृत्तमा एकाएक तरंग फैलियो । शर्मा र अर्का निर्माण व्यवसायी पीताम्बर बडूलाई ‘पक्राउ गरिएको’ समाचार बाहिरिए । घटनाबारे प्रतिक्रिया दिँदै निर्माण व्यवसायी रमेश शर्माले आफूलाई पक्राउको शैलीमा नभई ‘मिटिङका लागि’ मन्त्रालय लगिएको दाबी गर्नुभयो । उहाँकाअनुसार केही फोनको जवाफ नदिएको भन्दै प्रहरी टोली कार्यालय पुगेको थियो ।
‘मलाई केही फोनहरू आउँदा रेस्पोन्स हुन सकेनछ । त्यसपछि ‘मिटिङमा लिन आएको’ भनेर लगियो र शहरी विकास मन्त्रालयमा ह्यान्डओभर गरियो,’ शर्माले भन्नुभयो । उहाँले प्रहरी टोलीले सभ्य व्यवहार गरेको दाबी गरे पनि कार्यालयमै प्रहरी पुगेर व्यवसायीलाई मन्त्रालय लैजानु अस्वाभाविक भएको बताउनु भयो । शर्माकाअनुसार उक्त दिनको मुख्य छलफल नौबिसे–मुग्लिन सडक आयोजनाबारे छलफल भयो । बैठकमा निर्माण सामग्रीको अभाव, डिजेल र बिटुमिनको मूल्यवृद्धि तथा नदीजन्य सामग्री उत्खननमा देखिएका समस्याबारे सरकारसँग छलफल भएको उहाँले बताउनु भयो । शर्माले निर्माण व्यवसायी महासंघले सरकारसँग संयुक्त रूपमा समाधान खोज्न आग्रह गरेको बताउँदा सरकारले नसुनेको बताउँदै प्रहरी लगाएर व्यवसायी उठाएर लैजानु गलत भएको बताउनु हुन्छ । उहाँकाअनुसार सरकारले पनि विकास निर्माणको काम छिटो अघि बढाउन व्यवसायीहरूसँग सहकार्य चाहेको सोमबारको छलफलमा सन्देश दिएको थियो ।सरकारको ढुकढुकी पूर्वाधार समयमा बनोस् भन्ने रहेको आफूले पाएको बताउँदै शर्माले त्यसमा होस्टेमा हैंसे गर्न तयार रहेको बताउनु भयो । सरकारले पक्राउ गरेर हिरासतमा राखेको भन्ने हल्ला फैलिएका बेला शर्माले भने त्यसलाई इन्कार गर्नुभएको छ । उहाँले आफूलाई हिरासतमा नराखिएको स्पष्ट पार्नुभयो ।




