काठमाडौं, ५ फागुन । साना व्यापारीहरुले आफुहरुलाई सरकारले भेदभाव गरेको गुनासो गरेका छन् । शनिबार काठमाडौंमा आयोजित नेपाल राष्ट्रिय व्यवसायी महासंघको प्रथम राष्ट्रिय महाधिवेशनमा सहभागी व्यापारीले यस्तो गुनासो गरेका हुन् ।
उनीहरुले साना व्यापारी लक्षित नितिमा सरकार अस्पष्ट रहेको तथा आफूहरुको समस्या र योगदानलाई नजरअन्दाज गरेको गुनासो गरे । नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले राष्ट्रसेवक कर्मचारीका नाममा राज्यले विभिन्न सुविधा दिने गरेको तर व्यवसायीलाई सधै वेवास्ता गर्दे आएको बताए ।
महाधिवेशनको उद्घाटन गर्दै पूर्वसभामुख ओनसरी घर्तीले मुलुक सम्वृद्धिको बाटोमा अघि बढीसकेकाले निर्धक्क भएर व्यवसाय गर्न आग्रह गरिन् ।
महासंघमा नेपाल व्यापार संघ, राष्ट्रिय व्यापार संघ लगायत १८ वटा संघ संस्था आवद्ध छन् । महाधिवेशनमा महासंघमा आवद्ध संस्थाका ५० भन्दाबढी प्रतिनिधि सहभागी छन् ।