सन् २०२६ को पहिलो त्रैमासिकमा हङकङको अर्थतन्त्रले मजबुत वृद्धि हासिल गरेको छ । मङ्गलवार सार्वजनिक गरिएको आधिकारिक प्रारम्भिक तथ्याङ्कअनुसार हङकङको वास्तविक कुल गार्हस्थ्य उत्पादन (जीडीपी) अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५.९ प्रतिशतले वृद्धि भएको छ । यो वृद्धि पछिल्लो पाँच वर्षयताकै उच्च त्रैमासिक विस्तार हो । यसअघि सन् २०२५ को अन्तिम त्रैमासिकमा ४.० प्रतिशतको वृद्धिदर देखिएको थियो । हङकङ विशेष प्रशासनिक क्षेत्र (ज्प्क्ब्च्) सरकारको जनगणना तथा तथ्याङ्क विभागले सार्वजनिक गरेको विवरणअनुसार, सन् २०२६ को पहिलो त्रैमासिकमा निजी उपभोग खर्च ५.० प्रतिशतले बढेको छ । सन् २०२५ को चौथो त्रैमासिकमा यस्तो खर्च २.५ प्रतिशत मात्र रहेको थियो। यस्तै, ‘ग्रस डोमेस्टिक फिक्स्ड क्यापिटल फर्मेसन’ (स्थिर पूँजी निर्माण) मा १७.७ प्रतिशतको उल्लेख्य सुधार आएको छ । व्यापारिक क्षेत्रमा पनि उल्लेखनीय प्रगति देखिएको छ । तथ्याङ्कअनुसार पहिलो त्रैमासिकमा वस्तुको कुल निर्यातमा २३.८ प्रतिशत र आयातमा २९.९ प्रतिशतको वृद्धि भएको छ । मौसमी रूपमा समायोजित विवरण अनुसार, सन् २०२५ को चौथो त्रैमासिकको तुलनामा सन् २०२६ को पहिलो त्रैमासिकमा जीडीपी २.९ प्रतिशतले बढेको छ ।
हङकङ सरकारका प्रवक्ताले अर्थतन्त्रको यो सुदृढ वृद्धिलाई सकारात्मक रूपमा लिएका छन्। आर्टिफिसियल इन्टेलिजेन्ससँग सम्बन्धित इलेक्ट्रोनिक्स सामग्रीको विश्वव्यापी माग, पर्यटकको बढ्दो संख्या र सीमापार वित्तीय गतिविधिमा आएको तीव्रताका कारण हङकङको आर्थिक दृष्टिकोण आगामी दिनमा पनि सकारात्मक रहने प्रक्षेपण गरिएको छ । यद्यपि, मध्यपूर्वमा जारी तनावका कारण उत्पन्न हुनसक्ने जोखिमप्रति सरकार सचेत रहेको प्रवक्ताले बताए । सम्भावित असरलाई न्यूनीकरण गर्न र ऊर्जा आपूर्तिको स्थिरता सुनिश्चित गर्न लक्षित उपायहरू अवलम्बन गरिएको जानकारी समेत सरकारले दिएको छ ।





