काठमाडौं ।
मनास्लु हिमालको हीरक महोत्सव हुने भएको छ । नेपाल पर्वतारोहण संघले बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो जानकारी गराएको हो । संघका अध्यक्ष फुल गेल्जे शेर्पाले यही वैशाख २६ र २७ गते सो हिमालको हीरक महोत्सव आयोजना गर्न लागिएको बताउनु भयो । सो हिमाल आरोहण गरेको ७० वर्ष पुगेर अवसर पारेर सो कार्यक्रम आयोजना गर्न लागिएको हो । नेपालको विकास पर्वतीय पर्यटनबाट मात्रै सम्भव भएकाले त्यसका लागि आवश्यक प्रचार गर्न सो कार्यक्रम आयोजना गर्न लागिएको संघले जनाएको छ ।
संघका अध्यक्ष शेर्पाले नेपालको विकासका लागि पर्यटन क्षेत्रको विकासमा लाग्न सरकारलाई दबाब पुगोस् भनेर सो कार्यक्रम आयोजना गरिएको बताउनु भयो । सो महोत्सव कार्यक्रममा नेपालस्थित जापानिज दुतावास र स्विस सरकारले पनि सहयोग गर्ने नेपाल पर्वतारोहण संघले जनाएको छ । यसको आरोहण सर्वप्रथम ९, १९५६ मा जापानी आरोहण टोलीका सदस्यहरू तासिओ इमानिसीले र ग्याल्जेन नोर्बुद्वारा भएको थियो । भनिन्छ नेपालमा रहेको सगरमाथालाई बेलायतीहरूले आफ्नो माने जस्तै मनासलुलाई जापानी पर्वतको रूपमा लिइन्छ । यो हिमाल संसारको आठौँ अग्लो र नेपालको सातौँ अग्लो हिमाल हो । यसको उचाई ८,१५६ मिटर छ ।




