काठमाडौं ।
पूर्वाधार विकास समितिले अलपत्र अवस्थामा रहेका पूर्वाधार आयोजनाको व्यवस्थापन समयमा नै सम्पन्न गर्न निर्देशन दिएको छ । मंगलवार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको समितिको बैठकमा सभापति आशिष गजुरेलले विकास निर्माणका परियोजनालाई तत्काल व्यवस्थित गर्न सरकारलाई निर्देशन दिनुभएको हो । उहाँले आगामी दिनमा शुरु हुने परियोजनामा पनि विगतका कमजोरी दोहोरिन नदिन नीतिगत सुधार गर्नुपर्ने बताउनु भयो । नियम, प्रक्रिया र कार्यान्वयन तहमा रहेका अस्पष्टता र त्रुटीहरूको गहिरो अध्ययन गरी समितिले सरकारलाई ठोस सुझाव र निर्देशन दिने उहाँको भनाई छ ।
उहाँले विकास निर्माणका सन्दर्भमा समितिप्रति सरकार जवाफदेही हुनुपर्ने बताउनु भयो । मन्त्री र सचिवहरूले संसदीय समितिमा उपस्थित भएर स्पष्ट जवाफ दिनुपर्ने उहाँको भनाई छ । उहाँले संसदीय समितिभन्दा सरकार माथि नहुने बताउनुभयो । समितिले कुनै दबाबमा नपरी स्वतन्त्र रूपमा काम गर्ने उहाँले प्रतिवद्धता पनि जनाउनु भयो । समितिले राष्ट्रिय गौरवका आयोजनाहरूको प्रगति, देखिएका समस्या र तीनको समाधान गर्नको लागि प्रतिवेदन तयार गर्न उपसमिति समेत गठन गरेको छ ।




