पुनः प्रवेश भिसाका लागि अब एनओसी आवश्यक नपर्ने
सरकारले पश्चिम एशियामा रोजगारीका लागि जाने नेपाली कामदारका लागि श्रम स्वीकृति तथा वैधानिकीकरण (लिगलाइजेसन) प्रक्रिया पुनः खुला गरेको छ ।शुक्रवार परराष्ट्र मन्त्रालयमा आयोजित प्रेस ब्रिफिङमा मध्य एसिया, पश्चिम एशिया तथा अफ्रिका महाशाखा प्रमुख रामकाजी खड्काले यस्तो जानकारी दिनुभएको हो । उहाँकाअनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पश्चिम एशियाली देशहरुका लागि अस्थायी रूपमा बन्द गरेको श्रम स्वीकृतिसम्बन्धी सबै सेवाहरु सञ्चालनमा ल्याइसकेको छ । महाशाखा प्रमुख खड्काले सरकारको उक्त निर्णयको कार्यान्वयन गर्न सम्बन्धित देशका दुतावासहरूलाई निर्देशनसमेत दिइसकेको बताउनु भयो ।
उहाँले परराष्ट्र मन्त्रालयले पश्चिमी एशियास्थित सबै नेपाली नियोगहरूलाई कामदार मागपत्र प्रमाणीकरण सुचारु गर्न समेत निर्देशन दिइसकेको बताउनु भयो । उहाँले पश्चिम एशियामा रहेका नेपालीहरूको विवरण दर्ता गर्न कन्सुलर सेवा विभागले सञ्चालनमा ल्याएको रजिस्ट्रेसन पोर्टललाई स्थायी संरचनाका रुपमा निरन्तरता दिने निर्णय भएको उल्लेख गर्दै विदेशमा रहेका सबै नेपालीलाई नियमित रूपमा आफ्नो विवरण दर्ता गराउन आग्रह समेत गर्नुभयो । उहाँकाअनुसार परराष्ट्र मन्त्रालयमा स्थापित आपतकालीन नियन्त्रण कक्षमा दिनको समयमा मात्र नभई रातिको समयमा पनि सेवाग्राहीका प्रश्न, गुनासा र सुझावको तत्काल जवाफ दिन सकिने व्यवस्था मिलाइएको छ ।
यसका लागि तोकिएको कर्मचारीलाई जुनसुकै स्थानबाट पनि प्रतिक्रिया दिनसक्ने गरी डाटा तथा इन्टरनेटसहितको फोन उपलब्ध गराइएको खड्काको भनाइ छ । उहाँले नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सबाट सञ्चालन भइरहेका उद्धार उडानलाई निरन्तरता दिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत अनुरोध पठाइएको पनि बताउनु भयो । उहाँले नेपालबाटै श्रम स्वीकृति लिएर जान सकिने अवस्था बनेकाले रिएन्ट्री भिसाका लागि एनओसी आवश्यक नपर्ने गरी नयाँ दिल्लीस्थित नेपाली राजदुतावासलाई नयाँ निर्देशन पठाइएको पनि स्पष्ट पार्नुभयो ।





