काठमाडाैं । पछिल्लो एक वर्षको अवधिमा कुल सात हजार ६४८ वटा विपद्का घटना भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आगलागी र डढेलोसँग जोडिएका घटना धेरै छन् ।
आगलागी र त्यससँग जोडिएका घटना न्यूनीकरणका लागि विशेष सावधानी अनपाउनुपर्ने प्राधिकरणको तथ्याङ्कले देखाएको छ। ठूलो मात्रामा जनधनको क्षति हुनुका पछाडि सावधानी, जनचेतनाको अभाव तथा वन तथा सुक्खा एवं सुकेको सामग्रीमा आगो लगाउने प्रवृत्ति बढी जिम्मेवार हुने प्राधिकरणको भनाइ छ । प्राधिकरणका अनुसार गत बैशाख १ गतेदेखि चैत २७ गतेसम्मको अवधिमा देशभर तीन हजार ७२० वटा आगलागीका घटना भएका छन् ।
आगलागीमा परेर एक सय पाँच जनाको ज्यान गएको छ । त्यस्तै, पाँच सय ७१ जना घाइते भएका छन् भने चार हजार २६० परिवार प्रभावित भएका छन् । सो अवधिमा डढेलोको घटना तीन सय २८ वटा भएका छन् । डढेलोमा परेर दुई जनाको निधन भएको छ भने तीन जना घाइते भएका छन् भने ५८ परिवार प्रभावित भएका छन् ।
प्राधिकरणले आगलागीबाट जोगिन विशेष सावधानी अपनाउने, ज्वलनशील पदार्थ आगोले छुने ठाउँभन्दा पर राख्न, विशेष सचेतना अभियान सञ्चालन गर्न, आगलागी हुन नदिन अन्य उपाय सञ्चालन गर्नसमेत सबैमा अनुरोध गर्दै आएको छ ।





