मलाई प्रयोग गरेर गगनलाई हान्ने प्रयास भयो : सांसद केसी | ईमाउण्टेन समाचार

Our Network

चैत २० २०८२, शनिबार

मलाई प्रयोग गरेर गगनलाई हान्ने प्रयास भयो : सांसद केसी

काठमाडाैं । नेपाली काँग्रेसका नेता एवं समानुपातिक सांसद अर्जुननरसिंह केसीले ससुरा–ज्वाइँको ट्याग भिराएर आफू र पार्टी  सभापति गगनकुमार थापामाथि प्रहार गर्न खोजिएको आरोप लगाउनुभएको छ । आफूलाई पार्टी सभापति थापाको ससुरा भएकै कारण अवसर पाएको भनि हुने गरेका टिप्पणीले आफूलाई फरक नपर्ने बताउनुभएको हो ।

वि.स. २०१७ पुस १ गते राजा महेन्द्रले गरेको ‘कू’ विरुद्ध पर्चा बाँड्दै गर्दा आफूले जेल जीवन शुरु गरेको र पार्टी जीवनमा आफ्नो छुट्टै पहिचान भएको उहाँको दाबी छ । उहाँले पार्टी निर्माण र लोकतन्त्र संस्थागत गर्न आफूले गरेको योगदानबारे थाहा नभएकाहरुले सभापति थापाको ससुराको रुपमा मात्र चिन्ने गरेको भन्दै तिनीहरुलाई जवाफ दिइरहनुनपर्ने बताउनुभयो । उहाँले पशुपति दर्शन छिद्राको व्यापार भनेजस्तै आफ्नो नाम सभापति थापासँग जोडेर हुने गरेको टिकाटिप्पणीहरु बनीबनाउ षड्यन्त्र भएको बताउनुभयो ।

उहाँले नेपाली काँग्रेसभित्रै बाट आफ्नो पहिचान गगन थापाको ससुराको रुपमा मात्र सिमित गर्ने प्रयास गरिएको भन्दै आपत्ति समेत जनाउनुभयो । पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोईराला, नेतृ शैलजा आचार्य र पूर्वप्रधानमन्त्री सुशील कोईरालासहितको प्रसंग निकाल्दै केसीले पार्टीमा कयौँ नेताहरुले आफ्नै योगदानका आधारमा भुमिका पाएको भन्दै पारिवारिक सम्बन्धलाई मात्र आधार बनाएर आलोचना गर्नु उचित नहुने बताउनुभयो ।

पार्टी निर्माण र व्यवस्था पुनःस्थापनाका लागि आफूले गरेको योगदानबारे सबैलाई जानकारी गराएर सञ्चारकर्मीहरुले आफूलाई न्याय गर्नुपर्ने उहाँको भनाइ छ । उहाँले आफू रुपान्तरण र पुस्तान्तरणको वकालत गर्ने भएकै कारण विशेष अधिवेशनको पक्षमा उभिएको दाबी समेत गर्नुभयो । उहाँले काँग्रे बद्लिएको हेर्न नचाहानेहरुले आफूमार्फत सभापति थापामाथि प्रहार गर्न खोजेको भन्दै त्यसले केही फरक नपर्ने बताउनुभयो ।

Leave a Reply