काठमाडाैं । प्रधानमन्त्री बालेन्द्र साहले मधेश प्रदेशबाट निर्वाचित सांसदहरूसँग क्षेत्रगत तथा प्रदेशगत समस्याबारे छलफल गर्नुभएको छ । बुधबार शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि, सिंचाइ तथा भौतिक निर्माणका काममा देखिएका समस्या र समाधानका उपायसहित प्रधानमन्त्री शाहले सांसदहरूसँग ब्रिफिङ लिएको राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले बताउनुभयो ।
उहाँका अनुसार छलफलमा मधेश प्रदेशका सांसदहरूले सेवा प्रवाहमा देखिएका अवरोध, विकास निर्माणमा ढिलाइ लगायत विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए । सांसद झाले रेडक्रसको नाममा भइरहेको संगठित भ्रष्टाचार नियन्त्रण गर्न दलीय आधारमा गठन भएका सबै रेडक्रस समितिहरू विघटन गरी नयाँ संरचना बनाउनुपर्ने धारणा राखेको बताउनुभयो ।
विभिन्न जिल्लामा मुद्दा दर्ता गर्न आनाकानी गर्ने प्रवृत्ति रहेको भन्दै त्यसलाई रोक्न आफूहरुले आग्रह गरेको उहाँको भनाइ छ ।
जवाफमा प्रधानमन्त्री शाहले रेडक्रसको नाममा भइरहेको भ्रष्टाचार रोक्न मुख्य सचिव तथा प्रमुख जिल्ला अधिकारीहरूलाई तत्काल निर्देशन दिने प्रतिवद्धता व्यक्त गर्नुभएको उहाँले बताउनुभयो ।





