युवा नेतृत्वमा बन्ने नयाँ सरकारले नतिजामुखी काम गर्ने प्रधानमन्त्रीकाे विश्वास | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८२, शुक्रबार

युवा नेतृत्वमा बन्ने नयाँ सरकारले नतिजामुखी काम गर्ने प्रधानमन्त्रीकाे विश्वास

काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीले ६ महिने कार्यकाल सफलतापूर्वक पुरा भएको घोषणा गर्दै पदबाट बिदा लिने तयारी गर्नुभएको छ । ऐतिहासिक प्रतिनिधि सभा निर्वाचनको परिणाम आएसँगै उहाँले नयाँ निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्ने बाटो प्रशस्त गर्नुभएको हो ।

राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले भदौ २३ र २४ को ‘जेन–जी आन्दोलन’ पछिको जटिल परिस्थितिमा आफूले जिम्मेवारी सम्हालेको स्मरण गर्नुभयो । प्रधानमन्त्री कार्कीले ६ महिनाभित्र निर्वाचन गर्नु पर्ने मुख्य जिम्मेवारी पुरा गर्न सकेकोमा सन्तुष्टि व्यक्त गर्नुभयो ।

उहाँले छोटो कार्यकाल भएपनि भ्रष्टाचार र बेथितिविरुद्ध ऐतिहासिक कदम चालेको दाबी गर्नुभयो । अख्तियार र सीआईबीलाई व्यावसायिक स्वतन्त्रता दिएका कारण लामो समयदेखि दबाइएका भ्रष्टाचारका मुद्दा अघि बढेको उहाँले उल्लेख गर्नुभयो । यस्तै, ठेक्का लिएर काम नगर्ने र बिजुलीको महसुल नतिर्नेहरूमाथि पनि सरकारले कठोर कारबाही शुरु गरेको प्रधानमन्त्री कार्कीले बताउनुभयो ।

प्रधानमन्त्रीले २०८२ मंसिर २४ गते आन्दोलनकारीहरूसँग भएको ऐतिहासिक सम्झौताको कार्यान्वयनका लागि आधारशिला तयार पारिएको, आन्दोलनबाट प्रभावित उद्योगी व्यवसायीका लागि ‘एकीकृत व्यावसायिक पुनरुत्थान योजना’ र क्षतिग्रस्त संरचनाको पुनर्निर्माणलाई प्राथमिकता दिइएको उनले जानकारी दिनुभयो । उहाँले नयाँ निर्वाचित सांसदहरुलाई बधाई दिँदै उहाँले युवा नेतृत्वमा बन्ने नयाँ सरकारले सुशासन, रोजगारी सिर्जना र आर्थिक विकासमा नतिजामुखी काम गर्ने विश्वास व्यक्त गर्नुभयो ।

Leave a Reply