नियमित महाधिवेशनका लागि ‘साझा आयोजक समिति’ बनाउन डा. महतको प्रस्ताव | ईमाउण्टेन समाचार

Our Network

चैत २९ २०८२, सोमबार

नियमित महाधिवेशनका लागि ‘साझा आयोजक समिति’ बनाउन डा. महतको प्रस्ताव

काठमाडाैं । नेपाली काँग्रेसका नेता डा. प्रकाशशरण महतले पार्टीभित्रको आन्तरिक विवाद अन्त्य गरी एकीकृत रूपमा अगाडि बढ्न आगामी नियमित महाधिवेशनका लागि ‘साझा आयोजक समिति’ बनाउनुपर्ने प्रश्ताव अघि सार्नुभएको छ ।  पार्टी अहिले इतिहासकै जटिल र चुनौतीपूर्ण मोडमा रहेको उल्लेख गर्दै उहाँले सबै पक्षलाई समेटेर साझा स्वामित्व सुनिश्चित नगरेसम्म काँग्रेस बलियो हुन नसक्ने बताउनुभएको हो ।

संसदमा काँग्रेसको उपस्थिति जम्मा ३८ सिटमा खुम्चिएको अवस्थालाई ‘अत्यन्त न्युनतम संख्या’ भन्दै डा. महतले यसलाई मध्यनजर गर्दै समग्र पार्टी पंक्ति एकीकृत हुनुपर्नेमा जोड दिनुभयो । डा. महतले विगतमा भएको विशेष महाधिवेशन सबैको सहभागितामा नभएको र त्यसले पार्टीलाई अपेक्षित शक्ति दिन नसकेको टिप्पणी गर्नुभयो ।

आमनिर्वाचनअघि नयाँ नेतृत्व नभई जान सकिन्न भन्ने तर्कका साथ विशेष महाधिवेशन गरिएको भएपनि त्यसको परिणाम सशक्त आउन नसकेको उहाँको ठम्याइ छ । अहिलेको विवाद समाधानका लागि विगतका गल्ती कोट्याएर ‘पोइन्ट स्कोर’ गर्नुभन्दा साझा बिन्दु पहिल्याउनुपर्ने महतको सुझाव छ ।

उहाँले आगामी नियमित महाधिवेशन सम्पन्न गर्न विशेष महाधिवेशनमा जोडिएका र नजोडिएका सबै पक्षलाई समेटेर एउटा ‘आयोजक समिति’ बनाउनुपर्ने प्रस्ताव गर्नुभयो । आगामी २२ गते अदालतबाट आउने निर्णयले कानूनी पाटो सम्बोधन गर्ने भएपनि पार्टीलाई जोड्न राजनीतिक संवाद नै अनिवार्य रहेको महतको भनाइ छ । उहाँले आफ्नो तर्फबाट सहमतिको वातावरण बनाउन आवश्यक योगदान दिन तयार रहेको समेत स्पष्ट पार्नुभयो ।

नेता महतले सामाजिक सञ्जाल र मिडियामा एकअर्कालाई गालीगलौज गर्ने प्रवृत्तिबाट मुक्त हुन पार्टी कार्यकर्ताहरूलाई आग्रह गर्नुभयो ।

Leave a Reply

ताजा समाचार