डिजिटल बैंकिङको विस्तारसँगै एटीएम र कार्डमार्फत हुने नगद कारोबार निकै घटिरहेको छ नगद कारोबार घटेपछि बैंकहरूले शाखा तथा काउन्टर संख्या घटाउँदै शाखा गाभ्न थालेका छन् सरकारले पाँच लाख वा सोभन्दा बढीको नगद कारोबारमा सीमा तोकेपछि डिजिटल भुक्तानीमा आकर्षण बढेको हो ।
बैंक तथा वित्तीय संस्थाले डिजिटल बैंकिङलाई प्रवर्द्धन गरेसँगै एटीएमबाट पैसा झिक्ने र कार्डमार्फत् हुने भुक्तानी घट्दै गएको छ । गत माघमा एटीएम कार्डबाट देशभर ७३ अर्ब रुपैयाँ झिकिएको तथ्यांक छ । यो पोहरको माघको तुलनामा करिब साढे १५ प्रतिशत कम हो । माघ २०८१ मा एटीएमबाट ८६ अर्ब ४७ करोड झिकेका थिए ।
पछिल्ला वर्षमा क्यूआर, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङलगायत कारोबार बढेपछि एटीएम र डेबिट कार्डमार्फत हुने कारोबार घटेको राष्ट्र बैंकको तथ्यांक छ । गएको माघमा ग्राहकले ९२ लाख ८९ हजार १ सय ४९ पटक एटीएमबाट पैसा झिकेका छन् । २०८१ सालको माघमा १ करोड २ लाख ५० हजार ६ सय ४ पटक यस्तो कारोबार भएको तथ्यले डिजिटल बैंकिङ बढेपछि एटीएमको प्रयोग घटेको पुष्टि गर्छ । नगद कारोबारको तुलनामा डिजिटल बैंकिङ सरल र सुरक्षित भएपछि ग्राहक त्यसतर्फ लागेको जानकारहरुको ठम्याइ छ । बजारमा नगद कारोबारमा कमी आएसँगै बैंक तथा वित्तीय संस्थाले शाखाहरूमा काउन्टरको संख्या घटाउन थालेको बैंकरको भनाइ छ ।
‘यसअघि ३/४ वटा काउन्टर चाहिने शाखामा अहिले एउटै काउन्टरले काम हुने अवस्था आएको छ । दिनहुँ चार सयभन्दा बढी कारोबार हुने शाखामा हाल ६०/७० वटा मात्र नगद कारोबार हुन थालेको आकलन गरिएको छ । एटीएम कारोबार घट्न थालेपछि ग्राहकको चाप र आवश्यकताका आधारमा बैंकहरूले एटीएम मेसिन पनि बन्द गर्न थालेका हुन् । एटीएम बन्द गर्न राष्ट्र बैंकको अनुमति लिनुपर्दैन, जानकारी मात्र दिए पुग्छ ।
चालु आव माघसम्म रकमका आधारमा पनि क्यूआर मार्फत १ खर्ब २५ अर्ब र मोबाइल बैकिङ मार्फत ५ खर्ब ५८ अर्ब रुपैयाँ बराबर भुक्तानी भएको केन्द्रीय बैंकले जनाएको छ ।
एक वर्षअघिको तुलनामा गत माघसम्म ईसेवा, खल्तीलगायत वालेटबाट हुने कारोबार करिब २२, क्यूआर कारोबार ७६, मोबाइल बैंकिङ ४०, इन्टरनेट बैंकिङ २५, कनेक्ट आईपीएस २३ प्रतिशतले बढेको छ । यस अवधिमा एटीएम, डेबिट कार्डबाट हुने कारोबार, शाखारहित बैंकिङ कारोबार घटेको राष्ट्र बैंकको तथ्यांक छ । राष्ट्र बैंकको पछिल्लो नीति र डिजिटल कारोबार बढ्दा शाखा संख्या घटेका छन् । तीन वर्षअघि ११ हजार ५ सय ८० शाखा रहेकोमा माघसम्ममा घटेर ११ हजार ४ सय ९० मा सीमित भएको राष्ट्र बैंकले जनाएको छ ।
गत माघदेखि सर्वसाधारणले पाँच लाख वा त्यसभन्दा बढीको नगद कारोबार गर्न नपाउने व्यवस्था कार्यान्वयनमा आएको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था र लघुवित्तका नाममा जारी गरेको परिपत्रमा वस्तु किनबेचमा ५ लाखसम्मको नगद कारोबारको सीमा कार्यान्वयन गर्न निर्देशन दिएको हो । बैंक तथा वित्तीय संस्थाले ५ लाख वा त्योभन्दा बढीको रकम भुक्तानी गर्दा अनिवार्य रूपमा एकाउन्टपेयी चेक वा सम्बन्धित व्यक्तिको खातामा मात्र भुक्तानी गर्नुपर्नेछ । पैसाको कारोबारमा हुदै गएको डिजिटल छलाङले आगामी दिनहरुमा एटिएम कार्ड विस्तारै विस्थापन नहोला भन्न सकिदैन ।





