काठमाडाैं । श्रमविज्ञ डा. रामेश्वर नेपालले मध्यपूर्वका विभिन्न देशमा रहेका नेपाली श्रमिकहरुलाई सरकारले तत्काल उद्धारको पहल गर्नुपर्ने बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले शुक्रवार आयोजना गरेको कार्यक्रममा उहाँले त्यस क्षेत्रमा धेरै नेपालीहरु समस्यामा रहेको बताउनुभएको हो ।
उहाँले सरकारले तत्काल उद्धार गर्नुपर्ने अवस्था नरहेको बताएकोप्रति असन्तुष्टी जनाउँदै धेरै नेपालीहरु देश फर्किन चाहेको उल्लेख गर्नुभयो । उहाँले द्वन्द्व जारी रहेकोले नेपाल फर्किन चाहनेहरुलाई उद्धार गर्न ढिलाई गर्न नहुनेमा जोड दिनुभयो । हालसम्म झन्डै ७० हजार नेपालीले सरकारको पोर्टलमा असुरक्षित रहेको नाम दर्ता गराइसकेको उहाँको भनाई छ । अवैध रूपमा काम गरिरहेका धेरै नेपालीहरू सरकारी रेकर्डमा नभएकोले यो संख्या अझ बढ्न सक्ने उहाँले बताउनुभयो ।
उहाँका अनुसार अवैध रूपमा काम गर्न गएका नेपालीहरू कानूनी झन्झटमा पर्ने डरले पोर्टलमा नाम दर्ता गर्न हिच्किचाइरहेका छन् । डा. नेपालले सरकारको प्रयास सकारात्मक भएपनि उद्धार कार्यमा भने प्रभावकारी काम गर्न नसकेको टिप्पणी गर्नुभयो । उहाँले प्राथमिकताका आधारमा गर्भवती महिला, अवैध बसेका नेपालीहरु र बढी जोखिम क्षेत्रमा रहेकाहरुलाई उद्धार गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले द्वन्द्वमा सबैभन्दा बढी आप्रवासीहरु परेको बताउनुभयो । सम्बन्धित देशहरुले आफ्ना नागरिकलाई सुरक्षित राख्ने गरेको र बाह्य देशका नागरिकलाई भने सुरक्षामा चासो नदेखाएको पाईएको जानकारी दिनुभयो ।
उहाँले सरकारले सुरक्षासम्बन्धी स्पष्ट र पर्याप्त सूचना प्रवाह गर्न नसकेको पनि बताउनुभयो । सरकारले ‘सुरक्षित रहनुहोस्’ भनेर मात्र सूचना दिइरहेको उल्लेख गर्दै उहाँले कसरी सुरक्षित हुने, कहाँ के भइरहेको छ भन्ने बारेमा भने जानकारी नगराएको बताउनुभयो । त्यहाँ रहेका नेपालीहरूलाई दैनिक दुई,तीन पटक त्यहाँको वस्तुस्थितिको बारेमा सरकारले यर्थात जानकारी दिनुपर्ने उहाँको भनाई छ ।





